कैलाली । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या पछिल्ला दिनहरूमा उल्लेखनीय रूपमा बढेको छ । गर्मीयाम सुरु हुनु र यस साता वायु प्रदूषण बढेकाले अस्पतालमा दैनिक सेवा लिने बिरामीको चाप बढ्दै गएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी तथा मेडिकल रेकर्डर किशोरप्रसाद श्रेष्ठका अनुसार हाल अस्पतालमा दैनिक करिब एक हजार ८०० जनासम्म बिरामीले सेवा लिइरहेका छन् । प्रदूषणको प्रभावका कारण विशेष गरी श्वासप्रश्वाससम्बन्धी समस्या लिएर आउने बिरामीको सङ्ख्या बढ्दै गएको उनले बताए ।
उनका अनुसार आकस्मिक कक्षमा आउने बिरामीको सङ्ख्या पनि दिनहुँ बढ्दो क्रममा छ । साथै ओपिडी, डाइलासिस सेवा तथा स्वास्थ्य बिमा अन्तर्गत उपचार लिने बिरामीको सङ्ख्यामा समेत वृद्धि भएको छ । अस्पताल प्रशासनले बढ्दो बिरामी चापलाई ध्यानमा राख्दै आवश्यक व्यवस्थापन गर्न पहल गरिरहेको जनाएको छ । सीमित स्रोतसाधनका बाबजुद अस्पतालले नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रयास जारी राखेको सूचना अधिकारी श्रेष्ठले बताए ।
सेती प्रादेशिक अस्पतालमा कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाबाट समेत उपचारका लागि बिरामी आउने गरेका छन् । अस्पतालले प्रदूषणका कारण स्वास्थ्यमा असर पर्न सक्ने भएकाले अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन सर्वसाधारणलाई आग्रह गरेको छ ।







