सुर्खेत । सुर्खेतकी १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरण अदालत प्रवेशसँगै नयाँ मोडमा पुगेको छ । यसअघि प्रहरी अनुसन्धानले ‘एकल जबरजस्ती करणी’को निष्कर्ष निकाले पनि सरकारी वकिल कार्यालयले भने ‘पूर्वयोजनासहित सामूहिक बलात्कारपछि हत्या’ भएको दाबी गर्दै जिल्ला अदालत सुर्खेतमा अभियोग पत्र दायर गरेको छ ।

चैत ११ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतले आफ्नो अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । उक्त प्रतिवेदनमा इनिशामाथि एकजना नाबालकले जबरजस्ती करणी गर्दा गम्भीर चोट र अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको निष्कर्ष निकालिएको थियो ।
प्रहरीले सोही नाबालकविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा जन्मकैदको माग गर्दै प्रतिवेदन पेश गरेको थियो । तर, आइतबार सरकारी वकिल कार्यालयले चारै जना नाबालकलाई जोड्दै ‘सामूहिक जबरजस्ती करणी गरी ज्यान मारेको’ कसूरमा अभियोग पत्र दायर गरेपछि घटनाले नयाँ मोड लिएको हो ।
गुर्भाकोट नगरपालिका–६ स्थायी घर भएकी इनिशा वीरेन्द्रनगर–१ मा परिवारसँग बस्दै आएकी थिइन् । फागुन २३ गते बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी उनी बिहान ९ बजेतिर वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन् । अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनास्थलबाट प्रहरीले एक नाबालकलाई तत्काल नियन्त्रणमा लिएको थियो भने पछि परिवारको जाहेरीका आधारमा अन्य तीन जनालाई पनि पक्राउ गरिएको थियो । पोस्टमार्टम रिपोर्टमा गम्भीर शारीरिक चोट र अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको उल्लेख गरिएको छ । घटनास्थलबाट विभिन्न भौतिक प्रमाणहरू पनि संकलन गरिएको थियो ।
उता सरकारी वकिल कार्यालयले अनुसन्धानका क्रममा संकलित भौतिक, डिजिटल र परिस्थितिजन्य प्रमाणका आधारमा घटना सामूहिक भएको निष्कर्ष निकालेको जनाएको छ । अभियोग पत्रमा अभियुक्तहरूले आपसी योजना बनाएर पीडितलाई वन क्षेत्रमा पु¥याएको र त्यसपछि सामूहिक रूपमा अपराध गरेको दाबी गरिएको छ ।
सीसीटीभी फुटेज, मोबाइल फोनको कल डिटेल, लोकेसन डेटा तथा अन्य प्रमाणहरूलाई आधार मानेर घटनामा एकभन्दा बढी व्यक्तिको संलग्नता रहेको दाबी गरिएको छ । घटनाको समय आसपास अभियुक्तहरूबीच निरन्तर सम्पर्क भएको विवरण पनि अभियोग पत्रमा उल्लेख गरिएको छ ।
प्रहरी अनुसन्धानले घटना एकल भएको निष्कर्ष निकाले पनि सरकारी वकिलले सामूहिक भएको दाबी गर्नुले घटनालाई थप जटिल बनाएको छ । यही विषय अहिले बहसको मुख्य केन्द्र बनेको छ ।
दुवै पक्षबाट आन्दोलन
घटनाले अहिले सामाजिक र कानुनी दुवै क्षेत्रमा तरंग ल्याएको छ । एकातर्फ इनिशाका परिवार, आफन्त तथा अधिकारकर्मीहरूले ‘सामूहिक बलात्कारपछि हत्या’ भएको दाबी गर्दै निष्पक्ष अनुसन्धान र कडा कारबाहीको माग गर्दै आएका छन् ।
अर्कोतर्फ, पक्राउ परेका तीन नाबालकका आफन्तहरूले भने निर्दोषलाई फसाउन खोजिएको भन्दै सोमबार वीरेन्द्रनगरमा आन्दोलन गरेका छन् । उनीहरूले “निर्दोषलाई होइन, दोषीलाई सजाय देऊ” जस्ता नारासहित सरकारी वकिल कार्यालय अगाडि धर्ना दिएका हुन् ।
आन्दोलनरत पक्षका अनुसार अनुसन्धानका क्रममा प्रहरी र अन्य निकायले सामूहिक घटना नभएको निष्कर्ष निकालेको अवस्थामा अभियोग पत्रमा फरक दाबी गरिनु अन्याय भएको उनीहरूको भनाइ छ ।








