२०८३ वैशाख १९ , शनिबार

समयमै पुग्यो पाठ्यपुस्तक



रुकुमपश्चिम । नयाँ शैक्षिक सत्र २०८३ लाई लक्षित गर्दै रुकुमपश्चिममा आवश्यक पाठ्यपुस्तकहरू समयमै आइपुगेका छन् । जनक शिक्षा सामग्री केन्द्रबाट अनुमतिप्राप्त व्यवसायीहरूले जिल्लाका विभिन्न विद्यालयका लागि पुस्तक खरिद गरी भित्र्याएका हुन् ।

पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ रुकुमपश्चिमका अध्यक्ष कर्णबहादुर ओलीका अनुसार नयाँ शैक्षिक सत्रका लागि आवश्यक किताबहरू बेलैमा ल्याइसकिएको छ । जनक शिक्षा सामग्री केन्द्रले ढुवानी व्यवस्थापनका लागि फरक–फरक मितिमा सप्लायर्सलाई सम्पर्क गरी जिल्लामा पुस्तक पठाएको उनले जानकारी दिए ।

महासङ्घका जिल्ला सचिव शिशिर गौतमले सबै विद्यालयमा पुस्तक वितरण सम्पन्न भएपछि मात्र व्यवसायीहरूले छापाखानाबाट ढुवानी खर्च प्राप्त गर्ने बताए । शिक्षा विकास तथा समन्वय एकाइ रुकुमपश्चिमका प्रमुख ताराप्रकाश पुनका अनुसार विगत वर्षहरूमा जस्तै यस वर्ष पुस्तक अभावको समस्या देखिएको छैन ।

मागअनुसारका पाठ्यपुस्तकहरू समयमै उपलब्ध गराइएको उनले उल्लेख गरे । रुकुमपश्चिम जिल्लामा २ सय ८४ सामुदायिक विद्यालय रहेका छन् । सरकारले यी विद्यालयहरूमा कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : २०८२ चैत २३ गते सोमबार