सुर्खेत । नबिल बैंक, प्रदेश अस्पताल सुर्खेत र फेक्ट नेपाल को संयुक्त आयोजनामा सुर्खेतमा शुक्रबारदेखि आइतबारसम्म ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन हुने भएको छ । शिविरमा जलनका कारण दीर्घकालीन समस्या भोगिरहेका विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकलाई परामर्श, उपचार तथा आवश्यक शल्यक्रियासम्मका सेवा प्रदान गरिने आयोजकले जनाएको छ ।

सुर्खेतमा सञ्चालन हुने यस शिविरबाट करिब ५० जना जलन पीडित लाभान्वित हुने अपेक्षा गरिएको छ । जटिल प्रकृतिका बिरामीलाई थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर अस्पताल मा रिफर गरी निःशुल्क उपचारको व्यवस्था गरिने जानकारी दिइएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सञ्चालन गरिएको यो कार्यक्रम आगामी दिनमा लुम्बिनी प्रदेश तथा मधेश प्रदेश का जनकपुर र वीरगञ्जमा पनि विस्तार गरिने नबिल बैंकले जनाएको छ । यसअघि फागुन १२ देखि १४ गतेसम्म धनगढीमा सञ्चालन गरिएको पहिलो शिविरबाट ६५ जना जलनका बिरामीले निःशुल्क उपचार पाएका थिए ।
तीमध्ये २० जनाको सेती प्रादेशिक अस्पताल मा शल्यक्रिया गरिएको थियो भने जटिल अवस्थामा रहेका १८ जना बिरामीलाई काठमाडौं साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल मा रिफर गरिएको थियो ।
शिविरमा आगोले पोलेर शरीरको एक भाग अर्को भागसँग जोडिएको, हातका औँलाहरू टाँसिएको अवस्था भएका बिरामीहरूले निःशुल्क उपचार पाउनेछन्। साथै जन्मजात ओठ–तालु चिरिएको, औँला जोडिएको वा बढी भएको तथा चोटपटकका कारण समस्या भोगिरहेका व्यक्तिहरूले पनि परामर्श सेवा लिन सक्ने व्यवस्था गरिएको छ।







