२०८३ वैशाख ४ , शुक्रबार

बजार अनुगमनमा कडाई, गुणस्तरहीन बस्तुलाई नष्ट



सुर्खेत । खाद्य प्रविधि तथा गुणस्तर नापतौल कार्यालय, सुर्खेतले वीरेन्द्रनगर बजार क्षेत्रमा खाद्यन्न तथा फलफुल तरकारीको अनुगमन कार्य तिव्र रुपमा गरेको छ ।
बजारमा उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका खाद्यन्न र फलफुलको गुणस्तर, मूल्य र सुरक्षालाई ध्यानमा राख्दै अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा विभिन्न पसल तथा व्यवसायहरूमा म्याद सकिएका खाद्यान्न सामग्रीहरू भेटिएका थिए, जसलाई तत्काल नियन्त्रणमा लिई नष्ट (डिस्पोज) गरिएको छ ।
यस्ता लापरवाहीले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले सम्बन्धित व्यवसायीहरूलाई सचेत गराइएको छ ।

साथै, अनुगमन गरिएका व्यवसायमध्ये ८ वटामा नियम उल्लंघन गरेको पाइएकाले आवश्यक कानुनी कारबाही अगाडी बढाइने भएको छ । यस अभियानमा सहायक प्रमुख जिल्ला अधिकारी डिल बहादुर कार्की, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, सुर्खेतका कर्मचारीहरू तथा सुरक्षा निकायक र पत्रकारको सक्रिय सहभागिता रहेको थियो ।

संयुक्त टोलीले बजारमा उपलब्ध फलफूल, तरकारी तथा अन्य खाद्य सामग्रीहरूको विषादी परीक्षण गर्नुका साथै तिनको वास्तविक मूल्य निर्धारणको अवस्थाबारे समेत गहन अनुगमन गरेको थिए ।

नेपाल सरकारले भारतबाट आयात हुने केरामा पूर्ण रूपमा प्रतिबन्ध लगाएको जानकारी समेत दिइएको छ । यसले बजारमा बिक्री भइरहेका फलफूलको स्रोत र गुणस्तरप्रति थप सजग रहनुपर्ने आवश्यकता देखाएको छ ।

व्यापार गर्दा मुनाफा मात्र नभई उपभोक्ताको स्वास्थ्य र विश्वासलाई पनि उत्तिकै प्राथमिकता दिनु आवश्यक छ । म्याद सकिएका वा गुणस्तरहीन सामग्री बिक्री गर्नु कानुनी रूपमा दण्डनीय मात्र नभई नैतिक रूपमा पनि गलत हो ।

आफ्नो पसलमा मूल्यसूची स्पष्ट राख्ने, स्वच्छता कायम गर्ने र गुणस्तरमा कुनै सम्झौता नगर्ने जिम्मेवारी सबै व्यवसायीको हो । ग्राहकहरुलाई खाद्य सामग्री खरिद गर्दा म्याद सकिएको छ छैन भन्ने सुनिश्चित गरेर मात्र प्रयोग गर्न अनुरोध गरेको छ । प्याकेटमा उल्लेखित जानकारी ध्यानपूर्वक पढेर शंकास्पद वस्तु देखिएमा सम्बन्धित निकायमा उजुरी गर्न सकिने बताएको छ ।

स्वस्थ र सुरक्षित बजार निर्माण केवल सरकारी अनुगमनबाट मात्र सम्भव हुँदैन, यसका लागि व्यापारी र उपभोक्ता दुवैको समान भूमिका आवश्यक हुन्छ । नियम पालना गर्ने बानी, सचेत व्यवहार र जिम्मेवार सोचले मात्र हाम्रो बजारलाई स्वच्छ, पारदर्शी र सुरक्षित बनाउन सक्छ ।

प्रकाशित मिति : २०८३ वैशाख १ गते मंगलबार