रुकुम पश्चिम । नयाँ शहरको रूपमा विकास भइरहेको चौरजहारी क्षेत्रमा जग्गा विकास तथा एकीकरणसँगै भित्री सडक र नाला निर्माण कार्य तीव्र रूपमा अगाडि बढाइएको छ । नयाँ शहर आयोजना कार्यालय चौरजहारी ले वडा नम्बर १ अन्तर्गत घारीगाउँ जग्गा विकास आयोजनामा पूर्वाधार निर्माणको काम गरिरहेको हो । आयोजना प्रमुख इन्जिनियर गौरी पण्डितका अनुसार दतुले खोलामा आरसिसी नाला निर्माण तथा नाखिरा क्षेत्रमा भित्री सडक निर्माण तीव्र गतिमा भइरहेको छ । यसअघि मुख्य बजार क्षेत्रसहित अन्य स्थानमा समेत सडक र नाला निर्माण भइसकेको छ । हाल आधुनिक डिजाइनमा आधारित करिब ६ मिटर चौडाइको भित्री सडक र मजबुत नाला निर्माण भइरहेको छ ।
यी दुवै योजना आगामी असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजना कार्यालयका इन्जिनियर विष्णुबहादुर शाहीका अनुसार एक सय २२ मिटर आरसिसी नाला र दुइ मिटर भित्री सडक निर्माण भइरहेको छ । उक्त कामका लागि निर्माण व्यवसायी बी.एन.एस./एम.एन.एस. जेभीसँग भ्याटबाहेक २ करोड ५० लाख ३५ हजार रुपैयाँभन्दा बढी लागतमा सम्झौता गरिएको छ । नालाको दुवै किनारमा आरसिसी वाल निर्माण गरिने भएकाले संरचना अझ मजबुत हुने अपेक्षा गरिएको छ । वडा नम्बर १ का अध्यक्ष इन्द्रे गिरीका अनुसार यो आयोजना सम्पन्न भएपछि वर्षायाममा खोलाको पानी व्यवस्थापन नहुँदा हुने समस्या तथा अव्यवस्थित सडकको समस्या समाधान हुनेछ ।
यसले स्थानीय बासिन्दालाई सहज आवागमनका साथै व्यवस्थित बसोबासमा मद्दत गर्ने विश्वास लिइएको छ । वि.सं. २०७२ सालमा स्थापना भएको यस आयोजनाले हालसम्म ५७.१ किलोमिटर सडक ट्रयाक खोल्ने, स्तरोन्नति तथा ग्राभेल गर्ने काम सम्पन्न गरिसकेको छ भने ११.४ किलोमिटर सडक कालोपत्रे गरिएको छ । साथै २.२ किलोमिटर सडक ढलान, ४२० मिटर सोलिङ र ३१.७ किलोमिटर नाली निर्माणको काम पनि सम्पन्न भइसकेको छ । पूर्वाधार विकाससँगै चौरजहारी क्षेत्रका धुलाम्य र हिलाम्य सडकहरू व्यवस्थित बन्दै जाँदा स्थानीय बासिन्दा र आगन्तुक दुवैलाई आवागमनमा सहजता भएको छ ।









