मुगु । कर्णाली प्रदेशको मुगु जिल्लामा पर्ने राराताल मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिन्छ । नयाँ वर्षको अवसर पारेर यहाँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको छ । नयाँ वर्ष सुरु भएसँगै हवाई तथा सडकमार्गबाट रारा पुग्ने पर्यटकको संख्या वृद्धि भएको हो । राराको मिली र हुटु क्षेत्रका चौरहरूमा आन्तरिक पर्यटकको भीड देखिन थालेको र रारा राष्ट्रिय निकुञ्ज का कर्मचारी ऋृषीकेस यादवले जानकारी दिए ।
उनका अनुसार मिलीचौर, सल्लेरी, ताल्चालगायत गाउँहरूमा पर्यटकको घुइँचो लाग्न थालेको छ । छिमेकी जिल्ला जुम्लासहित काठमाडौं, चितवन, पोखरा, विराटनगर र नेपालगन्ज लगायतका स्थानबाट समूहमा घुम्न आउने पर्यटक बढिरहेका छन् । पर्यटकको संख्या बढेसँगै होटल र बासको अभाव देखिन थालेको छ । स्थानीय पूर्वाधार सीमित हुँदा व्यवस्थापनमा चुनौती थपिएको छ ।
पर्यटन क्षेत्रलाई दीर्घकालीन रूपमा विकास गर्न पूर्वाधार विस्तार, व्यवस्थित आवास, सरसफाइ, फोहोर व्यवस्थापन र सुरक्षित यात्राको व्यवस्था गर्न आवश्यक देखिन्छ । साथै, स्थानीय समुदायको सहभागितामा दिगो पर्यटन विकासका योजना अघि बढाउन सके रारालाई अन्तर्राष्ट्रिय स्तरको आकर्षक गन्तव्यका रूपमा अझ सुदृढ बनाउन सकिने विज्ञहरूको सुझाव छ ।









