कालीकोट । जिल्लामा बाढी–पहिरो लगायतका विपद्बाट घर क्षति भई लाभग्राही सूचीमा परेका ४९ घरधुरीलाई जिल्ला प्रशासन कार्यालयले ९३ लाख ५० हजार रुपैयाँ राहत रकम वितरण गर्ने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलको अध्यक्षतामा बसेको बैठकले सान्नीत्रिवेणी, शुभकालिका, महावै गाउँपालिका र तिलागुफा नगरपालिकाका पीडितलाई रकम भुक्तानी गर्ने निर्णय गरेको हो । अधिकांश लाभग्राहीलाई अन्तिम किस्ताबापत रकम दिइनेछ भने केहीलाई पहिलो र दोस्रो किस्तासमेत प्रदान गरिनेछ ।
निर्णय अनुसार सान्नीत्रिवेणी गाउँपालिकाका २७ जनाले प्रतिव्यक्ति २ लाख रुपैयाँका दरले अन्तिम किस्ता पाउने भएका छन् । त्यस्तै शुभकालिकाका १४ जना र तिलागुफाका ४ जना लाभग्राही रहेका छन् । साथै, सान्नीत्रिवेणीकी गोरिकला सार्की तथा महावै गाउँपालिकाका कन्ना उपाध्याय र जयकौरा शाहीलाई नयाँ घर निर्माणका लागि पहिलो किस्ताबापत जनही २ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरिएको छ । सरकारी मापदण्डअनुसार विपद्बाट पूर्ण घर क्षति भएकालाई ५ लाख रुपैयाँ र आंशिक क्षति भएकालाई ५० हजार रुपैयाँ राहत दिने व्यवस्था छ । हालको व्यवस्थाअनुसार राहत रकममा स्थानीय तहले २० प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशत र संघीय सरकारले ५० प्रतिशत व्यहोर्ने प्रावधान रहेको छ ।
यस वर्ष मात्र कालीकोटमा ८० जनाले राहत प्राप्त गरिसकेका छन् भने करिब ५० जनाको फाइल अझै प्रक्रियामा रहेको छ । ती फाइलहरू स्वीकृत भएपछि थप रकम वितरण गरिने जनाइएको छ । यद्यपि, सबै पीडितले राहत पाउन नसकेको गुनासो पनि उठेको छ। खाँडाचक्र–३ का गोवी पाण्डेले आगलागीबाट घर पूर्ण रूपमा नष्ट हुँदा पनि कुनै सहयोग नपाएको बताएका छन्। आर्थिक अभावका कारण उनी भारत गएर मजदुरी गरी घर पुनर्निर्माण गरिरहेको जनाइएको छ ।
यस्तै, रास्कोट–२ का धनिराम चौलागाईंले सडक निर्माणका क्रममा घर क्षति भए पनि न निर्माण कम्पनीले क्षतिपूर्ति दिएको न स्थानीय तहले राहत उपलब्ध गराएको गुनासो गरेका छन् । हाल उनी रोजगारीका लागि भारतको कर्नाटक राज्यको बेंगलुरुमा कार्यरत छन् । सरकारले मापदण्ड परिमार्जन गरी वास्तविक पीडित पहिचानलाई प्राथमिकता दिएको दाबी गरे पनि केही नागरिक अझै राहतबाट वञ्चित रहेको देखिएको छ ।









