२०८३ वैशाख ४ , शुक्रबार

प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीच छलफल, विकास र संघ–प्रदेश सहकार्यमा जोड



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रदेशका मुख्यमन्त्रीहरूसँग विकास निर्माण तथा संघ–प्रदेश समन्वयका विषयमा छलफल गरेका छन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित बैठकमा पाँच प्रदेशका मुख्यमन्त्रीहरूको सहभागिता रहेको थियो ।

छलफलमा विकास आयोजनालाई तीव्रता दिने, उपलब्ध स्रोत–साधनको न्यायोचित बाँडफाँड सुनिश्चित गर्ने र संघ तथा प्रदेशबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा केन्द्रित बहस भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री शाहले संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन केन्द्र र प्रदेशबीच समन्वय अपरिहार्य रहेको उल्लेख गरेका छन् । बैठकले संघीय संरचनालाई व्यवहारिक रूपमा मजबुत बनाउने दिशामा सकारात्मक सन्देश दिएको सचिवालयको दाबी छ ।
सरकारले आगामी दिनमा विकास निर्माणका कामलाई गति दिने र संघीय प्रणालीलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित यस्ता छलफललाई निरन्तरता दिने संकेत समेत दिएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख ४ गते शुक्रबार