मुगु । जिल्लाकाे सोरू गाउँपालिका–४ की स्वास्थ्यकर्मी सरिताकुमारी शाही गरिब तथा विपन्न वर्गका सुत्केरीको सेवामा समर्पित हुँदै आएकि छन् । उहाँ टोल–टोलमै पुगेर सुत्केरी सेवा प्रदान गर्दै आउनुभएको देखेर स्थानीयवासीसमेत प्रभावित भएका छन् । सोरू गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चित्र धामीका अनुसार भौगोलिक विकटता र यातायातको अभावका कारण दुर्गम बस्तीका सुत्केरीलाई सेवा दिन चुनौतीपूर्ण भए पनि शाही जोखिमपूर्ण अवस्थामा रहेका गर्भवती महिलाको ज्यान बचाउन दिनरात खटिरहेकी छन् । उनका अनुसार सोरू गाउँपालिकाको सिपगाउँस्थित बर्थिङ सेन्टरमा कार्यरत अनमी शाहीको सेवा अनुकरणीय रहेको छ ।
उनि विगत छ वर्षदेखि सोही बर्थिङ सेन्टरमा कार्यरत रहँदै गर्भवती तथा सुत्केरी आमा र नवजात शिशुको स्याहारमा निरन्तर संलग्न हुन् । हिमाली तथा दुर्गम क्षेत्रमा भरपर्दो प्रसूति सेवाको अभावले जोखिममा पर्ने महिलाहरूको ज्यान सुरक्षित बनाउन उनकाे योगदान महत्वपूर्ण रहेको स्थानीयवासी बताउँछन् । सोरू गाउँपालिका–९ की गहुँकलानाथ योगीका अनुसार सीमित स्रोतसाधन र जनशक्ति अभावका बाबजुद शाहीले सुरक्षित प्रसूति सेवा प्रदान गर्दै आएकी छन् । त्यसैगरी सोरू गाउँपालिका–८, सिपगाउँका वडा सदस्य गोविन्दा विष्टले भने पहिले यहाँका गर्भवती महिलाले सुत्केरी हुँदा अकालमै ज्यान गुमाउँथे, तर अहिले सरिता म्याडमको सेवाले धेरै आमा र बच्चाको ज्यान जोगिएको छ ।
अनमी सरिताकुमारी शाहीले आफूले सिकेको सिप प्रयोग गरेर गर्भवतीलाई सुरक्षित प्रसूति गराउन सहयोग गर्दै आएको बताइन् । साथै, उनले सुत्केरी सम्बन्धी परामर्शसमेत दिने गरेकि छन । रातिको समयमा दुर्गम बस्तीमा पुगेर सेवा दिनुपर्ने हुँदा कहिले काहीँ समयमै पुग्न कठिनाइ हुने उनकाे भनाइ छ । उनका अनुसार अहिले बर्थिङ सेन्टरमा नियमित सेवा लिन आउने गर्भवती महिलाको सङ्ख्या पनि बढ्दै गएको छ । स्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षमा चार सय ६९ जना महिलाले सुरक्षित प्रसूति सेवा लिएका छन् भने करिब एक हजार दुइ सय जना गर्भवतीलाई स्वास्थ्य जाँच तथा परामर्श सेवा प्रदान गरिएको छ ।









