डाेल्पा । कर्णालीको दुर्गम जिल्ला डोल्पामा कार्यरत डा. अखण्ड उपाध्याय केवल बिरामी उपचार गर्ने चिकित्सक मात्र होइनन्, उनी त्यहाँका पीडित, गरिब र असहाय नागरिकका भरोसाका आधार बनेका छन् । जिल्ला अस्पताल डोल्पामा मेडिकल अधिकृतका रूपमा कार्यरत उनले आफ्नो पेशालाई सेवाभावसँग जोड्दै उदाहरणीय काम गर्दै आएका छन् । बिरामीको उपचारका साथै आर्थिक अभावमा उपचारबाट वञ्चित हुन लागेका नागरिकलाई सहयोग गर्नु उनको दैनिकी जस्तै बनेको छ । केही दिनअघि सुर्खेतमा आयोजित एक कार्यक्रममा उनले सुनाएको एउटा घटना निकै मार्मिक छ ।
एक महिलाले बिरामी बच्चालाई अस्पताल ल्याइन्, तर डोल्पामा उपचार सम्भव नभएपछि नेपालगञ्ज रिफर गर्नुपर्यो । आर्थिक अभावका कारण ती महिला बच्चालाई घर फर्काउन लागेपछि डा. उपाध्यायले सहयोग जुटाएर उपचारका लागि पठाए । यस्ता घटनाहरू उनीका लागि नयाँ होइनन् । उनले धेरै बिरामीलाई चन्दा सङ्कलन गरेरै भए पनि बाहिर पठाएर उपचारको अवसर दिलाएका छन् । आर्थिक अभावकै कारण उपचार नपाउने अवस्था आउन नदिन उनी सधैँ अग्रसर देखिन्छन् ।
उपाध्यायको सामाजिक सक्रियता बिरामीसम्म मात्र सीमित छैन । उनले अन्यायमा परेका, हिंसाको सिकार भएका तथा असहाय अवस्थाका बालबालिका र किशोरीहरूको उद्धारमा समेत भूमिका खेलेका छन् । एक किशोरी, जसले आफ्नै नातेदारबाट हिंसा सहनुपरेको थियो, उनलाई सुरक्षित स्थानमा पुर्याउन उनले सहयोग गरेका थिए । प्रायः चिकित्सकहरू दुर्गम क्षेत्रमा काम गर्न हिच्किचाउने अवस्थामा डा. उपाध्यायले भने आफ्नै जन्मभूमि रोजे। एमबीबीएस सकेपछि अन्यत्र जान सक्ने अवसर हुँदाहुँदै उनले डोल्पा फर्किने निर्णय गरे । २०७८ भदौदेखि जिल्ला अस्पताल डोल्पामा सेवा सुरु गरेका उनले त्यहीँ बसेर आफ्ना दुई वर्ष समर्पित गर्ने अठोट गरेका थिए ।
डोल्पाको ठुलीभेरी नगरपालिका–३, दुनैमा जन्मिएका उनले बाल्यकालमै आफ्नो गाउँको अभाव र कठिनाइ नजिकबाट अनुभव गरेका थिए । त्यसैले डाक्टर बनेपछि त्यही ठाउँमा फर्केर सेवा गर्ने सपना साकार पारे । उनका अनुसार कर्णालीका धेरै जिल्लामा अवसरको अभाव र समस्याको चाप छ । तर उचित अवसर पाए नेपालीहरू जहाँ पनि सक्षम हुने उनी विश्वास गर्छन् । यही सोचका साथ उनले आफ्नो पेशालाई समाजसेवासँग जोडेका छन् । उनी अस्पतालको ओपीडीमै सीमित रहँदैनन् । बिरामीलाई बाहिर रिफर गर्नुपरेमा सम्बन्धित अस्पतालसँग सम्पर्क गरेर उपचार सहज बनाउन सहयोग गर्छन् । उनको बुझाइमा, केवल ‘रिफर’ गर्नु मात्र जिम्मेवारी पूरा गर्नु होइन, बिरामीलाई उपचारसम्म पुर्याउनु नै वास्तविक दायित्व हो ।
डा. उपाध्याय भन्छन् बिरामीलाई काठमाडौँ जानुस् भन्नु सजिलो छ, तर धेरैजसो बिरामी त्यहाँ पुग्नै सक्दैनन्। कतिपय बाटैमा हराउँछन्, कतिपय घरमै मृत्यु कुर्छन् । यही यथार्थले उनलाई थप जिम्मेवार बनाएको छ । काठमाडौंमा अध्ययनकै क्रममा पनि उनले सामाजिक कार्यलाई निरन्तरता दिएका थिए । आर्थिक अभावमा रहेका बिरामीलाई उपचारका लागि सहयोग गर्ने, जाडोमा डोल्पाका अस्पतालका लागि आवश्यक सामग्री पठाउने जस्ता काम उनले गरेका थिए । अहिले पनि ती सहयोगबाट लाभान्वित व्यक्तिहरूले उनलाई सम्झिने गरेका छन् ।
उनका लागि चिकित्सक हुनु केवल पेशा होइन, समाजप्रतिको उत्तरदायित्व पनि हो । उनी भन्छन्, हामीले औषधि लेखिदिएर मात्र कर्तव्य पूरा हुँदैन, समाजका कमजोर वर्गको आवाज बन्न पनि सक्नुपर्छ । उनीजस्ता समर्पित चिकित्सकका कारण डोल्पामा स्वास्थ्य सेवाप्रति विश्वास बढ्दै गएको छ । पेशागत जिम्मेवारीसँगै सामाजिक योगदानका कारण उनले विभिन्न सम्मान र पुरस्कार समेत प्राप्त गरेका छन् । डा. अखण्ड उपाध्याय आज कर्णालीका दुर्गम भेगका नागरिकका लागि केवल डाक्टर होइनन्—उनी आशा, भरोसा र मानवताको प्रतीक बनेका छन् ।









