कालीकोट । नेपाल सरकारले सुरु गरेको राष्ट्रिय आर्थिक गणना २०८३ कालीकोट जिल्लामा पनि औपचारिक रूपमा सुरु भएको छ । गणनाका लागि नियुक्त गणक तथा सुपरिवेक्षकहरू सम्बन्धित क्षेत्रमा पुगिसकेका छन् र जिल्लाका सबै ९ वटा पालिकामा गाउँ–गाउँसम्म पुगेर तथ्यांक सङ्कलन कार्य अघि बढाइएको छ । यो गणना अभियानले मुलुकको औद्योगिक तथा समग्र आर्थिक अवस्थाको यथार्थ चित्र प्रस्तुत गर्ने उद्देश्य राखेको छ । त्यसैले सबै सरोकारवालालाई आवश्यक सहयोग गर्न अनुरोध गरिएको छ । गणनाका क्रममा उद्योग, व्यापार, सेवा, सहकारी, निजी तथा सार्वजनिक संस्थानहरू लगायत आर्थिक क्षेत्रसँग सम्बन्धित १८ विभिन्न पक्षका आधारभूत विवरणहरू सङ्कलन गरिनेछ ।

यस अभियानअन्तर्गत दर्ता भएका तथा नभएका साना–ठूला व्यवसाय, रोजगारी सिर्जना गर्ने प्रतिष्ठानहरू, स्वरोजगारमा आधारित काम, उद्योग–कलकारखाना, गैरसरकारी संस्था, सरकारी निकाय, विद्यालय, अस्पताल जस्ता संस्थाहरूको विस्तृत विवरण लिइनेछ । ‘अर्थतन्त्रको मापनका लागि आर्थिक गणना’ भन्ने नारासहित सञ्चालन गरिएको यस अभियानबाट कालीकोटका पालिका र वडा तहसम्म रहेका संस्थाहरूको सङ्ख्या, तिनको अवस्था, रोजगारीमा संलग्न जनशक्ति तथा वैधानिक अवस्थाबारे महत्वपूर्ण तथ्यांक प्राप्त हुने अपेक्षा गरिएको छ ।
जिल्ला आर्थिक गणना कार्यालय कालीकोटका अधिकारी वसन्त रजौरेका अनुसार वैशाख २ गतेदेखि नै गणक तथा सुपरिवेक्षकहरू फिल्डमा खटिएका छन् । खाँडाचक्र नगरपालिकामा ४ जना, तिलागुफा र रास्कोट नगरपालिकामा २–२ जना, शुभकालिका, नरहरिनाथ, पचालझरना र पलाँता गाउँपालिकामा २–२ जना तथा महावै र सान्नीत्रिवेणी गाउँपालिकामा १–१ जना गणक परिचालन गरिएको छ । कार्यालयले गणनामा संलग्न गणकहरूलाई सही र यथार्थ जानकारी उपलब्ध गराई राष्ट्रिय अभियानलाई सफल बनाउन सबैलाई सहयोग गर्न आग्रह गरेको छ । यसअघि नेपालमा २०७५ सालमा राष्ट्रिय आर्थिक गणना सम्पन्न गरिएको थियो ।







