सुर्खेत । नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश, दैलेख उद्योग वाणिज्य संघ, नारायण नगरपालिका दैलेख तथा eWPN कार्यक्रमका साझेदार संस्थाहरूबीच नारायण नगरपालिकामा महत्वपूर्ण समन्वय बैठक सम्पन्न भएको छ । महिला आर्थिक सशक्तीकरण, उद्यमशीलता विकास र स्थानीय तहसँगको सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यसहित बैठक आयोजना गरिएको हो ।

दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र थापाको अध्यक्षता तथा नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा नगर उपप्रमुख तप्ता थापा विशेष अतिथिको रूपमा सहभागी हुनुभएको थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौंका सहायक निर्देशक हरि पौडेल, प्रशासन अधिकृत सम्युक्ता भण्डारी, महासंघ कर्णाली प्रदेशका कार्यकारी निर्देशक महेश केशर खनाल, कार्यकारिणी सदस्य कुमार प्याकुरेल लगायतको उपस्थिति रहेको थियो। साथै, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखा प्रमुखहरू, उद्योग वाणिज्य संघका पदाधिकारी तथा भध्एल् साझेदार संस्थाका प्रतिनिधिहरूको पनि सहभागिता थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै अध्यक्ष थापाले eWPN कार्यक्रममार्फत सञ्चालन गरिएका गतिविधिहरूले महिलाको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्नुभयो। उहाँले स्थानीय तहसँगको समन्वय अझ प्रभावकारी बनाउन सके कार्यक्रमको पहुँच र प्रभाव दुवै विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमको उद्देश्य, उपलब्धि तथा आगामी योजना प्रस्तुत गर्दै eWPN कार्यक्रमका कर्णाली प्रदेश संयोजक लोकराज लामिछानेले महिलामा सीप विकास, उद्यम प्रवर्द्धन र रोजगारी सिर्जनामा कार्यक्रमले सकारात्मक परिणाम दिएको जानकारी दिनुभयो। उहाँले आगामी दिनमा स्थानीय आवश्यकताअनुसार कार्यक्रमलाई परिमार्जन गर्दै लैजाने योजना रहेको पनि बताउनुभयो ।
खुला छलफलका क्रममा सहभागीहरूले कार्यक्रमको प्रभावकारिता अझ बढाउनुपर्नेमा जोड दिएका थिए। महासंघका सहायक निर्देशक हरि पौडेलले महिला उद्यमशीलता विकासमा eWPN कार्यक्रमले सकारात्मक परिवर्तन ल्याएको उल्लेख गर्दै यसको दीगो प्रभावका लागि सरोकारवाला निकायबीच घनिष्ठ सहकार्य आवश्यक रहेको बताउनुभयो।
त्यस्तै, महासंघ कर्णाली प्रदेशका कार्यकारी निर्देशक महेश केशर खनालले कर्णालीमा महिलाको आर्थिक पहुँच विस्तार गर्न यस्ता कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको धारणा राख्नुभयो। उहाँले निजी क्षेत्र, स्थानीय सरकार र विकास साझेदारबीचको समन्वय सुदृढ नगरेसम्म कार्यक्रमको उपलब्धि दीर्घकालीन नहुने उल्लेख गर्नुभयो।
नगर उपप्रमुख तप्ता थापाले महिलालाई आत्मनिर्भर बनाउन स्थानीय सरकारले लक्षित कार्यक्रमलाई प्राथमिकता दिइरहेको जानकारी दिँदै eWPN कार्यक्रमसँग सहकार्य गरेर सीप विकास र आयआर्जनका अवसर विस्तार गर्ने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख लोमन शर्माले महासंघद्वारा सञ्चालित कार्यक्रमको प्रशंसा गर्दै यसले स्थानीय तहमा सकारात्मक प्रभाव पारेको बताउनुभयो। उहाँले आगामी दिनमा नगरपालिका र महासंघबीचको सहकार्य अझ सुदृढ बनाइने स्पष्ट पार्नुभयो।
छलफलमा सामाजिक शाखा प्रमुख खमबहादुर थापा लगायत अन्य सहभागीहरूले कार्यक्रमका चुनौती, अवसर र सुधारका पक्षबारे सुझाव दिएका थिए। बैठकले महिला उद्यमशीलता विकास, कार्यक्रम विस्तार र स्थानीय तहसँगको सहकार्य सुदृढ गर्ने लगायतका महत्वपूर्ण निर्णय पारित गर्दै सम्पन्न भएको आयोजकले जनाएको छ।







