२०८३ वैशाख ५ , शनिबार

आगलागीमा घाइते उपचारका लागि सहयाेग संकलन



जाजरकोट ।   स्थानीय युवाहरूले गत आइतबार ग्यास सिलिन्डर लिक भएर आगलागीमा गम्भीर घाइते भएका तीन जनाको उपचारका लागि आर्थिक सहयोग जुटाएका छन् । माया जैसी, रुपा जैसी र गणेश गौतमको उपचारमा आवश्यक सहयोगका लागि स्थानीय युवाहरूले नौ लाख ५० हजार रुपैयाँ संकलन गरेका हुन् । आगलागी घटना आइतबार बिहान भएको थियो। घटनामा थालुप्रसाद जैसीकी ४२ वर्षीया श्रीमती माया जैसी, ३७ वर्षीया साली रुपा जैसी र २२ वर्षीय छोरा गणेश गौतम गम्भीर घाइते भएका थिए। उनीहरूलाई प्रारम्भिक उपचारका लागि नगर अस्पताल, दल्लीमा ल्याइएको थियो । थप उपचारका लागि काठमाडौँ नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो ।

नलगाड नगरपालिका–२ का राजन गौतमका अनुसार, जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा करिब चार  लाख पाँच हजार रुपैयाँ खर्च गरी घाइतेलाई नेपालगञ्जसम्म पुर्‍याइएको थियो । त्यसपछि परिवारले विमानमार्फत काठमाडौँ ल्याएको थियो । हेलिकोप्टर चार्टरमा ठूलो रकम खर्च भएपछि औषधि र उपचारमा थप खर्च जुटाउन समस्या परेको थियो। कृषिजन्य पेशा र ज्यालामजदुरी गर्दै आएको पीडित परिवारले उपचार खर्च आफैं जुटाउन नसकेपछि स्थानीय युवाहरूले सहयोग अभियान सुरु गरेका थिए ।

नलगाड नगरपालिका–४ का समाजसेवी छवि पन्तले भने घाइतेको जीवन रक्षा र उपचार सुनिश्चित गर्न सुरु गरिएको अभियानबाट संकलित रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । त्यसैगरी, नलगाड नगरपालिका–२ का देवीलाल वली, लवकुश वली र राजन गौतमको टोलीले आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेका थिए । हाल तीनै जना घाइते काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा उपचाररत छन् । स्थानीय समुदायले यस्तो पहललाई सामाजिक उत्तरदायित्वको उदाहरणको रूपमा लिएका छन् र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

प्रकाशित मिति : २०८३ वैशाख ५ गते शनिबार