जुम्ला । जुम्लाका युवाहरू परम्परागत कृषि पेसासँगै नयाँ सम्भावनाको खोजीमा छन् । पछिल्लो समय जिल्लामा माछापालनको क्षेत्रमा आकर्षण बढ्दो छ । आत्मनिर्भर बन्ने उद्देश्यसहित केही युवाहरूले व्यावसायिक रूपमा माछापालन सुरु गरेका छन् । चन्दननाथ नगरपालिका–१० का देवन्द्रराज गिरी र वडा नं. छ का दिल्लीबहादुर रावल करिब छ वर्षदेखि रेन्बो ट्राउट जातको माछापालनमा सक्रिय छन् । उनीहरूले २०७७ सालमा नुवाकोटबाट १५ हजार भुरा ल्याएर व्यवसाय सुरु गरेका थिए । त्यसबेला प्रतिगोटा भुरा १९ रुपैयाँमा खरिद गरिएको थियो । सुरुवाती वर्ष अनुभव सङ्कलनमै समय बित्यो । दोस्रो वर्षदेखि केही माछा बेच्न सफल भएको गिरीले जानकारी दिए । अहिले उनीहरूले डेढ क्विन्टल माछा पोखरीमा राखेका छन् भने अहिलेसम्म ९० हजारभन्दा बढी भुरा छोडिसकेका छन् । परीक्षण चरणमा रहेका कारण अहिलेसम्म अपेक्षित आम्दानी भने हुन सकेको छैन ।
बजारमा रेन्बो ट्राउट माछा प्रतिकिलो करिब एक हजार आठ सय रुपैयाँमा बिक्री हुने भए पनि उनीहरूले प्रतिस्पर्धात्मक मूल्यमा प्रतिकिलो १३ हजार रुपैयाँमा बिक्री गरिरहेका छन् । निर्माण गरेको एउटा ठूलो पोखरीमा पाँच वटा क्यानल छन्, प्रत्येक क्यानलबाट करिब डेढ क्विन्टल माछा उत्पादन हुने गरेको छ । गिरीका अनुसार, सात वर्षअघि घर नजिकैको नाउलोमा परीक्षणका रूपमा माछा छाडिएको थियो। केही वर्ष राम्रोसँग हुर्किए पनि अत्यधिक चिसोका कारण हिउँ पर्दा सबै माछा मरे । त्यसपछि उनले इन्टरनेटमार्फत रेन्बो ट्राउटबारे अध्ययन गरी चिसो हावापानी अनुकूल हुने भएकाले व्यावसायिक पालन सुरु गरेका हुन् ।
हालसम्म माछापालन, भुरा खरिद, दाना व्यवस्थापन र संरचना निर्माणमा ५० लाख रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । भविष्यमा माछापालन स्थलमै होटेल सञ्चालन गर्ने योजना पनि बनाइएको छ । यसको लागि १० वर्षका लागि जग्गा भाडामा लिइएको गिरीले जानकारी दिए । उत्पादित माछा हाल खलङ्गा र आसपासका बजारमा बिक्री भइरहेको छ । रावलका अनुसार, उत्पादन राम्रो भएमा सुर्खेत, नेपालगन्ज, मुगु र कालीकोट सम्म बजार विस्तार गर्न सकिने सम्भावना छ ।
जुम्लाका प्रमुख पशु चिकित्सक ज्ञानेन्द्रसिंह बुढ्थापाका अनुसार, कार्यालयमा माछापालनसम्बन्धी विशेषज्ञ जनशक्तिको अभाव छ । तर प्राविधिक सहयोगको कमी भए पनि किसानहरू बीच ज्ञान आदानप्रदान गर्दै काम अघि बढिरहेको छ । जुम्लामा माछापालनको सम्भावना बढ्दो देखिएको छ । आवश्यक प्राविधिक सहयोग, बजार व्यवस्थापन र लगानीको उचित व्यवस्थापन भएमा यो क्षेत्रले रोजगार सिर्जना र आम्दानी दुवैमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने देखिन्छ









