२०८३ वैशाख ५ , शनिबार

चिकित्सक अभाव, सल्यक्रिया सेवा ठप्प



सल्यान ।  जिल्ला अस्पताल सल्यानमा चिकित्सक अभावका कारण सल्यक्रिया (अपरेसन) सेवा पूर्ण रूपमा बन्द भएको छ । जटिल अवस्थाका गर्भवती र सुत्केरी हुन नसकेका महिलालाई सेवा दिँदै आएको अस्पतालमा एमडीजीपी चिकित्सक अभाव भएपछि चैत २८ गतेदेखि अपरेशन सेवा ठप्प भएको हो । सेवा बन्द भएपछि सल्यक्रियाका लागि आउने बिरामीहरू दाङ, सुर्खेत र नेपालगञ्ज जान बाध्य भएका छन् । यस अघि जिल्लामै न्यून शुल्कमा उपचार पाउँदै आएका सेवाग्राहीहरू अब बाहिर जानुपर्दा आर्थिक भार समेत बढेको छ । जटिल अवस्थाका गर्भवती महिलाका लागि यो स्थिति थप जोखिमपूर्ण बनेको छ ।

मानव अधिकारकर्मी रामचन्द्र रेग्मीले भने सेवा लिन आएका महिलाले अपरेशन सेवा बन्द भएको गुनासो गरेका छन् । सम्बन्धित निकायले स्वास्थ्यजस्तो संवेदनशील विषयमा विशेष ध्यान दिनुपर्छ । अप्रेशनका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता आएको छ, छिट्टै चिकित्सक व्यवस्था गरिनु आवश्यक छ । अस्पतालमा प्रत्येक महिना एक सयभन्दा बढी महिला सुत्केरी हुने गरेका छन् । तीमध्ये केहीलाई सल्यक्रिया आवश्यक पर्छ । तर हाल सामान्य सुत्केरी सेवा मात्र सञ्चालनमा रहेको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुनकुमार बुढामगरका अनुसार जटिल अवस्था भएका तथा मिति नाघेका गर्भवतीलाई जिल्ला बाहिर रेफर गर्नुपरेको बाध्यता आएको छ ।

डा. बुढामगरले थपे एमडीजीपी चिकित्सकको अभावबारे संघ र प्रदेश सरकारलाई जानकारी गराइसकिएको भए पनि हालसम्म व्यवस्थापन हुन सकेको छैन । अस्पतालमा कार्यरत एमडीजीपी डा. बुद्धिनाथ साह बिरामी भएर उपचाररत छन उनले भने तालिमप्राप्त मेडिकल अधिकृत उच्च अध्ययनका लागि गइसकेका कारण सेवा प्रभावित भएको हो । प्रतिनिधिसभा सदस्य रमेश मल्लले पनि चिकित्सक अभावका कारण प्रसुति शल्यक्रिया सेवा बन्द हुनुले गम्भीर समस्या सिर्जना भएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । उनका  अनुसार, कर्णाली प्रदेश सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा र प्रधानमन्त्रीको सचिवालयसम्म विषय पुगिसकेको छ ।

उनले  भने प्रसव पीडामा रहेका महिलालाई अस्पतालको गेटबाटै फर्काउनुपर्ने अवस्था अत्यन्तै संवेदनशील र दुःखद छ । समस्या समाधानका लागि सम्बन्धित निकायबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । सरोकारवालाहरूले चेतावनी दिएका छन् कि चिकित्सक अभाव यथाशीघ्र समाधान नभए जिल्लाको मातृ तथा शिशु स्वास्थ्य सेवा थप जोखिममा पर्नेछ

प्रकाशित मिति : २०८३ वैशाख ५ गते शनिबार