हुम्ला । जिल्ला प्रशासन कार्यालय हुम्लाले यस वर्षदेखि सार्वजनिक बिदाका दिनहरूमा समेत केही महत्वपूर्ण सेवाहरू सञ्चालन गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयको निर्देशनअनुसार २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म पर्ने बिदाका दिनहरूमा पनि सेवा प्रवाह गरिने भएको हो । प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्दका अनुसार बिदाका दिनमा नेपाली नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाहरू उपलब्ध गराइनेछ । सेवाग्राहीलाई सहज र छिटो सेवा प्रदान गर्ने उद्देश्यले यस्तो व्यवस्था लागू गरिएको उनले बताए ।
यस व्यवस्थाअनुसार वैशाख १८ गते उभौली पूर्णिमा, जेठ १५ गते गणतन्त्र दिवस, भदौ १२ गते रक्षाबन्धन, भदौ १९ गते कृष्ण जन्माष्टमी, असोज २५ गते घटस्थापना, पुस नाै गते धान्य पूर्णिमा र पुस १० गते क्रिसमस डेका दिन पनि सेवा सञ्चालन हुनेछ । त्यसैगरी पुस १५ गते तमु ल्होसार, पुस २७ गते पृथ्वी जयन्ती, माघ १ गते माघी पर्व, माघ २४ गते सोनाम ल्होसार, फागुन ७ गते प्रजातन्त्र दिवस, फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस र फागुन २५ गते ग्याल्बो ल्होसारका अवसरमा पनि सेवा जारी रहनेछ। साथै, ईद उल फित्र र बकर ईदका दिनहरूमा पनि सेवा उपलब्ध हुनेछ। यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरिसकेको छ र सेवाग्राहीहरूलाई तोकिएका दिनहरूमा सेवा लिन अनुरोध गरिएको छ ।









