२०८३ वैशाख ६ , आइतबार

विपन्न बालबालिकाका लागि छात्रावास निर्माण सुरु



सल्यान ।  विपन्न तथा सहाराविहीन बालबालिकालाई शिक्षा र सुरक्षित आवासको पहुँच विस्तार गर्ने उद्देश्यले सल्यानको एक सामुदायिक विद्यालयमा छात्रावास भवन निर्माण सुरु गरिएको छ। शारदा नगरपालिका–५, तल्लो मार्केस्थित जनकल्याण आधारभूत विद्यालयमा शनिबार श्रमदानमार्फत निर्माण गरिने लक्ष्यसहित भवनको शिलान्यास गरिएको हो । शिलान्यास कार्यक्रममा शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले छात्रावास निर्माणले आर्थिक रूपमा कमजोर तथा अभिभावकविहीन बालबालिकालाई अध्ययनमा सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे  उनले शिक्षा क्षेत्रको विकाससँगै यस्ता बालबालिकाका लागि सुरक्षित आवास सुनिश्चित गर्नु सबैको साझा जिम्मेवारी भएको बताए ।

निर्माण सामग्री व्यवस्थापनका लागि नगरपालिकाले पाँच लाख रुपैयाँ नगद सहयोग उपलब्ध गराउनेछ भने जेसीबी र ट्याक्टरसमेत निःशुल्क प्रदान गरिनेछ । अन्य निर्माण कार्य भने श्रमदानमार्फत सम्पन्न गरिने विद्यालयका सहायक प्रधानाध्यापक कृष्ण वलीले जानकारी दिए । हाल विद्यालयमा ३५ जना विपन्न तथा सहाराविहीन बालबालिका अध्ययनरत रहेका छन् । थप २० जना बालबालिका पनि सम्पर्कमा आइसकेका छन् । नयाँ शैक्षिक सत्र सुरु भएसँगै ती बालबालिकालाई समेत आवाससहित अध्ययनको व्यवस्था गरिने विद्यालयले जनाएको छ ।

छात्रावास निर्माणमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय व्यवसायी तथा समुदायको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ । कार्यक्रममा नगर प्रवक्ता राजेशकुमार शर्मा, वडा नं. ५ का वडाध्यक्ष प्रदीप शाही, विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामबहादुर बुढाथोकी, प्रधानाध्यापक डिल्लीबहादुर भण्डारी तथा निर्माण समिति अध्यक्ष शंकर थापालगायतको उपस्थिति रहेको थियो । सहभागीहरूले छात्रावास निर्माणले टाढाबाट अध्ययन गर्न आउने तथा अभिभावकविहीन बालबालिकाको शैक्षिक भविष्य उज्यालो बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०८३ वैशाख ६ गते आइतबार