जुम्ला । उत्पादन वृद्धि भए पनि बजार अभावका कारण सास्ती खेपिरहेका जुम्लाका किसानका लागि राहत स्वरूप कृषि उपज संकलन तथा बिक्री केन्द्र स्थापना गरिएको छ । चन्दननाथ नगरपालिका–९ उम्गाडमा स्थापना गरिएको उक्त केन्द्रले वर्षौंदेखि डोकोमा बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य गर्ने अपेक्षा गरिएको छ । जुम्लाको पातारासी क्षेत्र, जसलाई अन्न भण्डारका रूपमा चिनिन्छ, त्यहाँ मौसमी तथा बेमौसमी तरकारीसहित अन्य कृषि उपज प्रशस्त उत्पादन हुने भए पनि बजारीकरणको अभावले किसान मारमा पर्दै आएका थिए ।
उत्पादन बिक्री गर्न बिहानैदेखि बजारका गल्ली–गल्ली घुम्नुपर्ने र सस्तो मूल्यमा बेच्नुपर्ने बाध्यताले किसानको श्रम र लगानी दुवै खेर जाने गरेको थियो । अब उम्गाडमा संकलन केन्द्र स्थापना भएसँगै किसानहरूले आफ्नो उत्पादन सहज रूपमा बिक्री गर्न पाउने भएका छन् । स्थानीय महिला किसान तारा गिरीका अनुसार यसले दैनिक रूपमा बजार धाउनुपर्ने झन्झट हटाउनुका साथै उत्पादन बिक्री नहुने चिन्ता पनि कम गरेको छ ।
नर्वे सरकार र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को सहयोगमा सञ्चालित रेरास परियोजना तथा चन्दननाथ नगरपालिकाको सहकार्यमा उक्त केन्द्र स्थापना गरिएको हो । संकलन केन्द्रको उद्घाटन नगरप्रमुख राजुसिंह कठायतले गरेका थिए । नगरप्रमुख कठायतले केन्द्रलाई दिगो र व्यवस्थित बनाउन स्थानीय सरकारले विशेष ध्यान दिने बताउँदै उत्पादन वृद्धि र बाह्य बजारसम्म पहुँच विस्तार गर्न किसानलाई प्रोत्साहन गरिने उल्लेख गरे । उनले अपसिजनमा सुर्खेत र नेपालगन्जसम्म तरकारी आपूर्ति गर्ने लक्ष्यका साथ उत्पादन बढाउन आग्रह गरे ।
उपप्रमुख रामदेवी खड्काले संकलन केन्द्रले महिला किसानको आयआर्जन बढाउनुका साथै कामको बोझ घटाएको बताए । कृषि नै नगर समृद्धिको आधार भएकाले उत्पादन, बजारीकरण र व्यवस्थापनमा स्थानीय सरकार प्रतिबद्ध रहेको उनकाे भनाइ थियो । कार्यक्रममा वडाध्यक्षहरू, कृषि कार्यालय प्रमुख, नेपाल पत्रकार महासंघका प्रतिनिधि लगायतले संकलन केन्द्रको दिगो सञ्चालनका लागि किसान र स्थानीय सरकारको सक्रियता आवश्यक रहेको धारणा राखेका थिए । यूएनडीपी/रेरास परियोजनाका जुम्ला क्लस्टर संयोजक ऋषिराज वलीले संकलन केन्द्रले किसानको आयस्तर वृद्धि गर्न र बजारीकरणसम्बन्धी समस्या समाधान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे
आगामी दिनमा अन्य ग्रामीण बजारहरूमा पनि यस्ता केन्द्र स्थापना गर्ने लक्ष्य रहेको उनले बताए।हाल चन्दननाथ नगरपालिका आठ र नाै का सयौं महिला किसान व्यावसायिक तरकारी खेतीमा संलग्न छन् । किसान समूहका संयोजक तुलराज गिरीले संकलन केन्द्रलाई अझ विस्तार गर्न स्थानीय सरकारसँग सहयोगको अपेक्षा गरेका छन् । उम्गाड क्षेत्रलाई कृषि उत्पादनको केन्द्रका रूपमा विकास गर्न विश्व खाद्य कार्यक्रम, किर्डाक, लिर्भड लगायत विभिन्न दातृ संस्थाहरूले समेत काम गर्दै आएका छन्। यस्ता पहलले जुम्लामा व्यावसायिक कृषि प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।









