सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सेवाग्राहीलाई सहजता प्रदान गर्ने उद्देश्यले राहदानी (पासपोर्ट) घरमै पु¥याउने सेवा सुरु गर्ने तयारी थालेको छ । सरकारी सेवा घरदैलोमै उपलब्ध गराउने योजनाअनुसार यो पहल अघि बढाइएको हो । सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीका अनुसार राहदानी सेवा हुलाकमार्फत घर–घरमै पु¥याउने गरी योजना निर्माण भइरहेको छ । सेवा प्रभावकारी बनाउन हुलाक निर्देशनालयसँग आवश्यक समन्वय र छलफल भइरहेको उनले जानकारी दिए ।
कार्यालयका अनुसार अबको केही दिनमै सेवा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । यसका लागि जिल्लाभर रहेका इलाका हुलाक कार्यालय मार्फत सेवा विस्तार गर्ने योजना बनाइएको छ । यो सेवा नेपाल सरकारको एक सय बुँदे शासकीय सुधार कार्ययोजना अन्तर्गत लागू गर्न लागिएको हो । नागरिकलाई समय, खर्च र झन्झटबाट मुक्त गर्दै राज्यका सेवा सहज रूपमा घरमै उपलब्ध गराउने उद्देश्य यस योजनाको रहेको जनाइएको छ । प्रशासकीय अधिकृत कृषिराम उपाध्यायका अनुसार सेवा सुरु भएपछि राहदानी लिन प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ ।
यसले सेवाग्राहीलाई थप सहजता र सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ । यसैबीच, जिल्ला प्रशासन कार्यालय जुम्ला र दैलेखले पनि यस्तै सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न हुलाक कार्यालयसँग छलफल सुरु गरेका छन् । स्थानीय तहका इलाका हुलाक कार्यालयमार्फत सेवा प्रवाह गर्ने तयारी भइरहेको जनाइएको छ । सरकारले आगामी एक सय दिनभित्र राहदानी, नागरिकताको प्रतिलिपि तथा सवारी चालक अनुमति पत्र (लाइसेन्स) जस्ता अत्यावश्यक कागजातहरू घरमै पु¥याउने लक्ष्य लिएको छ ।
मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधारसम्बन्धी कार्यसूचीमा यस योजना समावेश गरिएको छ । यससँगै हुलाक सेवालाई आधुनिकीकरण गरी सरकारी कुरियर सेवाका रूपमा विकास गरिनेछ। डिजिटल र एकीकृत प्रणालीमार्फत सेवा प्रवाह गर्दै बिचौलियाको भूमिका अन्त्य गर्ने सरकारको लक्ष्य छ । योजना कार्यान्वयनमा आएपछि नागरिकता, राहदानी लगायतका सेवा जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट लिन सकिने व्यवस्था पनि लागू गरिने जनाइएको छ ।









