२०८३ वैशाख ७ , सोमबार

निःशुल्क आँखा शिविरबाट ८३ ले लिए लाभ



सल्यान । सल्यानमा वडास्तरमै बिरामी पहिचान गरी सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट ८३ जनाको दृष्टि पुनःस्थापित गरिएको छ । शारदा नगरपालिकाको आयोजना र नेपाल नेत्रज्योति संघको प्राविधिक सहयोगमा श्रीनगरस्थित आँखा उपचार केन्द्रमा दुई दिनसम्म सञ्चालन गरिएको शिविरमा मोतिबिन्दुका बिरामीहरूको सफल शल्यक्रिया गरिएको हो । नगरपालिकाका अनुसार शिविरमा तिन सय ६९ जनाको आँखाको परीक्षण गरिएको थियो, जसमा एक सय ३७ पुरुष र  दुई सय ३२ महिला सहभागी थिए । परीक्षणका क्रममा मोतिबिन्दु भएका ८३ जना बिरामी पहिचान गरी उनीहरूको निःशुल्क शल्यक्रिया गरिएको हो ।

शल्यक्रिया गरिएका बिरामीमध्ये ४१ पुरुष र ४२ महिला रहेका छन् । मुख्य शिविरअघि नै शारदा नगरपालिकाले विभिन्न वडामा छनोट शिविर सञ्चालन गरी मोतिबिन्दुका बिरामी पहिचान गरेको थियो । यसरी पहिचान गरिएका बिरामीलाई मुख्य शिविरमार्फत उपचार उपलब्ध गराइएको हो । वडास्तरमै गरिएको पहिचानले वास्तविक बिरामीलाई समयमै सेवा दिन सहज भएको नगरपालिकाको भनाइ छ ।

नगर उपप्रमुख सुस्मिता सापकोटाले ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ आँखा सेवा स्थानीय स्तरमै उपलब्ध गराउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । उनले समयमै रोग पहिचान र उपचारले दृष्टि जोगाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । शिविरमा सहभागी बिरामीहरूको यातायात खर्चसमेत नगरपालिकाले व्यहोरेको जनाएको छ । स्थानीय स्तरमै सेवा पाउँदा आफूहरूलाई धेरै सहज भएको सहभागीहरूले बताएका छन् ।

प्रकाशित मिति : २०८३ वैशाख ७ गते सोमबार