हुम्ला । सदरमुकाम सिमकोटबाट सशस्त्र प्रहरी बलको टोली नारा लेकमा जमेको हिउ छिचोल्दै नेपाल–चीन सीमास्थित हिल्सा पुगेको छ । बोर्डर आउट पोस्ट (बिओपी) मा थप जनशक्ति खटाउने क्रममा टोलीले कठिन यात्रा पार गर्दै गन्तव्यमा पुगेको हो । सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका नायब उपरीक्षक पुष्करबहादुर सिंहका अनुसार सिमकोटबाट गएको नौ सदस्यीय टोली नारा लेक पार गर्दै सकुशल हिल्सा पुगेको हो । करिब चार हजार छ सय ७० मिटर उचाइमा रहेको उक्त क्षेत्रमा आधादेखि तीन फिटसम्म हिउ जमेकाले टोलीले करिब तीन घण्टा पैदल हिँड्नुपरेको थियो ।
हाल नारा क्षेत्रमा करिब तीन किलोमिटर सडकमा बाक्लो हिउ जमेकाले पन्छाउने काम नभएसम्म सवारी आवागमन सम्भव नभएको जनाइएको छ । सरकारको निर्देशनअनुसार ४४ नम्बर गुल्म सिमकोटले बिओपी हिल्सामा थप जनशक्ति पठाएको हो । यसअघि सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा एक प्लाटुन जनशक्ति रहेकोमा अब आवश्यक संख्या पूरा भएको बताइएको छ ।
हिल्सास्थित बिओपीबाट सीमास्तम्भहरूको नियमित अनुगमन तथा सीमा सुरक्षाको काम हुँदै आएको छ । थप जनशक्ति पुगेपछि अब दुई टोलीले पालैपालो सीमास्तम्भहरूको निगरानी गर्नेछन् । सीमा सुरक्षा सुदृढ बनाउने सरकारी नीतिअनुसार हिल्सा क्षेत्रमा जनशक्ति थप गरिएको हो । यसले सीमावर्ती गतिविधि नियन्त्रण र निगरानी अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।









