डाेल्पा । विशेष अदालतले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा भएको भ्रष्टाचार मुद्दामा तीन जनालाई दोषी ठहर गर्दै कैद तथा जरिवानाको सजाय सुनाएको छ । विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सोमबार भएको सुनुवाइपछि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल र कर्ण बहादुर कार्कीलाई जनही दुई वर्ष कैद र एक करोड दुई लाख ८१ हजार नाै सय ५० रुपैयाँ १८ पैसा जरिवाना गर्ने फैसला गरेको हो ।
यस्तै, निर्माण व्यवसायीका तर्फबाट दिव्य निर्माण सेवाका प्रोप्राइटर भीमराज न्यौपानेलाई पनि सोही बराबरको दुई वर्ष कैद र समान जरिवाना हुने ठहर अदालतले गरेको छ । अदालतले दिव्य निर्माण सेवा (फर्म) लाई भने कैद सजाय नहुने तर जरिवाना मात्र लाग्ने स्पष्ट पारेको छ ।फैसला अनुसार प्रतिवादीहरूबाट हानी–नोक्सानी बराबरको बिगो रकम जनही एक करोड दुई लाख ८१ हजार नाै सय ५० रुपैयाँ १८ पैसा असुल गरी त्रिपुरासुन्दरी नगरपालिकाको कोषमा दाखिला गर्न आदेश दिइएको छ ।
त्यसैगरी, ‘अपराध पीडित संरक्षण ऐन, २०७५’ अनुसार पीडित राहत कोषमा जनही ४३ हजार दुई सय ७८ रुपैयाँ क्षतिपूर्ति शुल्क समेत बुझाउनुपर्ने अदालतको फैसलामा उल्लेख गरिएको छ । अदालतको यो निर्णयले स्थानीय तहमा भएको आर्थिक अनियमितता र भ्रष्टाचार नियन्त्रणमा कानुनी कारबाही कडाइका साथ अघि बढाइएको सन्देश दिएको छ ।









