२०८३ वैशाख ९ , बुधबार

मान्म–ताडी सडक जोखिम



कालीकोट ।  कर्णाली राजमार्ग अन्तर्गत पर्ने मान्म–ताडी सडक खण्ड अहिले अत्यन्त जोखिमपूर्ण अवस्थामा पुगेको छ । सडकको अवस्था दिनप्रतिदिन बिग्रँदै जाँदा यात्रु, सवारी चालक तथा पैदलयात्री सबै त्रसित बन्न पुगेका छन् । सडकका धेरै स्थानमा किनार भत्किएको छ भने माथिबाट झरेका ढुंगा सडकभर थुप्रिएका छन् । त्यस्तै, सुरक्षा बार कमजोर भएकाले दुर्घटनाको जोखिम झन् बढेको छ । भीरालो भू-भाग र साँघुरो कच्ची सडकका कारण यात्रा झन् असुरक्षित बनेको स्थानीयको भनाइ छ । स्थानीय तिलक चौलागाईंका अनुसार रातिको समयमा यात्रा गर्दा झन् बढी डर लाग्ने गर्दछ ।

कतिबेला माथिबाट ढुंगा खस्छ भन्ने थाहा हुँदैन तलको सुरक्षा बार पनि भरपर्दो छैन, बीच–बीचमा पानीले खाल्डा पारेको छ  उनले बताए ।  अर्का स्थानीय रोशन पाण्डेले वर्षा सुरु नहुँदै सडकको अवस्था जीर्ण बन्दै गएको गुनासो गरे । सानो पानी पर्दा पनि ढुंगा खस्ने र सडक अवरुद्ध हुने समस्या छ, बर्खामा झन् यात्रा गर्नै कठिन हुन्छ, उनले बताए । स्थानीयका अनुसार निर्माण व्यवसायी वा सम्बन्धित निकाय कसको लापरबाही हो भन्ने स्पष्ट नभए पनि सडकको मर्मत र स्तरोन्नति प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख हिमबहादुर खत्रीले उक्त सडक जोखिमयुक्त भएकाले सचेतनामूलक सूचना टाँसिएको जानकारी दिए । निर्माण पक्षसँग समन्वय भइरहेको र सुधारको प्रयास भइरहेको उनले बताए । वर्षायाम नजिकिँदै जाँदा पहिरो र ढुंगा खस्ने जोखिम अझ बढ्ने भएकाले यस सडक खण्डमा तत्काल मर्मत तथा संरक्षणको आवश्यकता देखिएको छ । अन्यथा, कर्णाली प्रदेशको राजधानीसँग कालीकोट, जुम्ला र मुगु जिल्लाको सिधा यातायात सम्पर्क प्रभावित हुने सम्भावना बढ्दै गएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख ९ गते बुधबार