२०८३ वैशाख ९ , बुधबार

चीन जोड्ने सडक : दस वर्षमा सत्र किलोमिटर मात्रै



मुगु ।  उत्तरी चीनसँग जोडिने महत्त्वपूर्ण व्यापारिक नाका नाकच्यालाग्ना जोड्ने सडक निर्माण कार्य अत्यन्त सुस्त गतिमा अघि बढिरहेको छ । १० वर्षको अवधिमा जम्मा १७ किलोमिटर मात्रै ट्र्याक खोलिनु विकासको गति निकै कमजोर भएको संकेत हो । गमगढी–नाकच्यालाग्ना ९१ किलोमिटर सडक परियोजना जुम्ला सडक डिभिजन कार्यालयअन्तर्गत निर्माणाधीन छ । साइट इन्जिनियर दीपक चौधरीका अनुसार २०७२ सालदेखि हालसम्म करिब ६० करोड रुपैयाँ खर्च हुँदा पनि सीमित प्रगति मात्रै भएको छ । पर्याप्त बजेट अभावका कारण निर्माण कार्यले गति लिन नसकेको बताइएको छ ।

नाकच्यालाग्ना परियोजना कार्यालय मुगुमै स्थापना गर्ने योजना भए पनि हालसम्म कार्यान्वयन नभएकाले जुम्लाबाटै अनुगमन र मूल्याङ्कन गर्नुपर्ने बाध्यता छ । यसले समयमै निरीक्षण र स्तरोन्नति कार्यमा कठिनाइ थपेको इन्जिनियर चौधरीले उल्लेख गरे उनले परियोजनालाई प्रभावकारी बनाउन गमगढीमै कार्यालय स्थापना आवश्यक रहेको बताए । हाल थोदुङ्कक्याराभान जेभीले मुगमकार्मारोङ गाउँपालिकाको छाँयाल क्षेत्रसम्म सडक निर्माण गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा १.२ किलोमिटर चट्टानी भिर विस्फोट गरी बाटो विस्तार तथा साढे सात किलोमिटर सडकमा ग्राभेल र नाला निर्माणका लागि साढे छ  करोड रुपैयाँ विनियोजन गरिएको छ ।

तर निर्धारित समयभित्र काम सम्पन्न हुन नसक्दा निर्माण कम्पनीहरूले म्याद थप गरी काम अगाडि बढाइरहेका छन् । थोदुङ्कक्याराभान जेभीका सञ्चालक कार्मा तामाङका अनुसार नेपाली सेनाको सहयोगमा चट्टानी भागमा विस्फोट कार्य सुरु गरिएको छ र स्काभेटरमार्फत सडक विस्तार भइरहेको छ । स्थानीय पत्रकार विनोदकुमार मल्लले हालको गतिमा सडक निर्माण सम्पन्न हुन अझै धेरै समय लाग्ने बताउँदै छिटो प्रगति सुनिश्चित गर्न नेपाली सेनालाई जिम्मेवारी दिनुपर्ने सुझाव दिए ।

नाकच्यालाग्ना नाका कर्णाली प्रदेशको सम्भावित प्रमुख आम्दानी स्रोतका रूपमा हेरिएको छ । सडक निर्माण सम्पन्न भएमा जडीबुटी लगायत नेपाली उत्पादन चीनतर्फ निर्यात तथा चीनबाट सामान आयात गर्न सहज हुने अपेक्षा गरिएको छ । यस नाकाबाट मुगु, हुम्ला लगायत कर्णाली प्रदेशका करिब १० जिल्लाका नागरिक लाभान्वित हुने भएकाले संघीय सरकारले पर्याप्त बजेट विनियोजन गरी निर्माण कार्यलाई तीव्रता दिनुपर्ने माग स्थानीयले गरेका छन् ।

प्रकाशित मिति : २०८३ वैशाख ९ गते बुधबार