सल्यान । जिल्लाका सामुदायिक विद्यालयहरूमा विद्यार्थी संख्या न्यून देखिएपछि विद्यालय समायोजन, शिक्षक व्यवस्थापन तथा शैक्षिक नीतिमा पुनरावलोकन आवश्यक रहेको देखिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ सल्यानको शैक्षिक सत्र २०८२ को तथ्यांकअनुसार जिल्लामा रहेका ४३२ विद्यालयमध्ये १७६ विद्यालयमा ५० भन्दा कम विद्यार्थी अध्ययनरत छन् । त्यस्तै दुई सय ६६ विद्यालयमा एक सय भन्दा कम विद्यार्थी रहेका छन् जसले शैक्षिक स्रोतको प्रभावकारी उपयोगमा चुनौती खडा गरेको छ ।
स्थानीय तहगत रूपमा हेर्दा बागचौर नगरपालिकामा ६८ विद्यालयमध्ये ३० विद्यालयमा ५० भन्दा कम र ३९ विद्यालयमा एक सय भन्दा कम विद्यार्थी छन् । बनगाड कुपिण्डे नगरपालिकाका ६५ विद्यालयमध्ये २४ विद्यालयमा ५० भन्दा कम र ३९ विद्यालयमा १०० भन्दा कम विद्यार्थी अध्ययनरत छन् । त्यस्तै, शारदा नगरपालिकामा रहेका ५६ विद्यालयमध्ये २७ विद्यालयमा ५० भन्दा कम र ४० विद्यालयमा एक सय भन्दा कम विद्यार्थी छन् ।
कपुरकोट गाउँपालिकाका २३ विद्यालयमध्ये ७ विद्यालयमा ५० भन्दा कम र ११ विद्यालयमा एक सय भन्दा कम विद्यार्थी छन् भने कालीमाटी गाउँपालिकाका ५१ विद्यालयमध्ये २८ विद्यालयमा ५० भन्दा कम र ३४ विद्यालयमा एक सय भन्दा कम विद्यार्थी रहेका छन् । अन्य स्थानीय तहहरूमा पनि यस्तै अवस्था देखिएको छ । त्रिवेणी गाउँपालिकाका २८ विद्यालयमध्ये ११, छत्रेश्वरी गाउँपालिकाका ४० मध्ये २०, सिद्धकुमाख गाउँपालिकाका २३ मध्ये १०, कुमाख गाउँपालिकाका ४७ मध्ये १४ र दार्मा गाउँपालिकाका ३१ मध्ये पाँच विद्यालयमा ५० भन्दा कम विद्यार्थी अध्ययनरत छन् ।
विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यालयहरूमा विद्यार्थी संख्या झनै न्यून देखिएको छ । विद्यालय संख्या धेरै भए पनि विद्यार्थी कम हुँदा शैक्षिक गुणस्तर, शिक्षक व्यवस्थापन र स्रोत परिचालनमा समस्या उत्पन्न भएको सरोकारवालाहरू बताउँछन् । विद्यार्थी संख्या घट्दै जानुका प्रमुख कारणहरूमा बसाइँसराइ, जन्मदरमा कमी, निजी विद्यालयतर्फको आकर्षण तथा दुर्गम क्षेत्रमा पहुँचको अभाव रहेको जनाइएको छ ।









