सिमकोट । हुम्लाको सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डमा खानेपानीको दीर्घकालीन समस्या समाधान गर्ने उद्देश्यले निर्माणाधीन सर्केगार्ड बृहत् खानेपानी योजना अन्तिम चरणमा पुगेको छ । पछिल्ला पाँच महिनादेखि निरन्तर रूपमा निर्माण कार्य अघि बढाइएपछि योजना सम्पन्न हुने अवस्थामा पुगेको हो । गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाका अनुसार वर्षौंदेखि खानेपानी अभाव झेल्दै आएको सर्केगार्ड बजारमा अब चाँडै नियमित पानी आपूर्ति हुने अपेक्षा गरिएको छ ।
मुहानदेखि घरघरमा धारा निर्माण कार्य एकैसाथ सञ्चालन गरिएकोले छोटो अवधिमै उल्लेखनीय प्रगति भएको उनले बताए । साथै, निर्माण कार्यको गुणस्तर सुनिश्चित गर्न आफूले पटक–पटक अनुगमन गरेको पनि उनकाे भनाइ छ । उक्त योजनाको सम्झौता २०८२ साल मङ्सिर २ गते गरिएको थियो । सर्केगार्ड गाउँपालिका–७ स्थित भ्यूपाड्न मुहानबाट करिब १३ किलोमिटर पाइपलाइनमार्फत पानी ल्याउने व्यवस्था गरिएको छ । हालसम्म एक इन्टेक, दुई आरबिटी (रिजर्भ ट्यांकी) र दुई डिसी (वितरण केन्द्र) निर्माण सम्पन्न भइसकेका छन् भने ती संरचनासम्म पाइपलाइन जडान पनि पूरा भइसकेको छ ।
खानेपानी सरसफाइ तथा स्वच्छता परियोजना (सुसा) का गाउँपालिका संयोजक निलबिक्रम शाहीका अनुसार एक सय ४४ घरधुरीमा धारा निर्माण भइसकेको छ र जडान कार्य सुरु भइसकेको छ । साथै, १३ वटा सार्वजनिक धाराहरूको निर्माण पनि अन्तिम चरणमा पुगेको छ । यो योजना सम्पन्न भएपछि हिमज्योति माध्यमिक विद्यालय, प्रहरी चौकी, इलाका प्रशासन कार्यालय, गाउँपालिका कार्यालय, इलाका वन कार्यालय तथा बजार क्षेत्रका एक हजारभन्दा बढी सेवाग्राही प्रत्यक्ष लाभान्वित हुनेछन् ।
त्रिपक्षीय लागत साझेदारीमा निर्माण भइरहेको यस योजनामा परियोजनाले ५७ प्रतिशत लागत व्यहोर्नेछ भने गाउँपालिकाले करिब १४ लाख ८५ हजार रुपैयाँ योगदान गरेको छ । बाँकी लागत उपभोक्ताबाट प्रतिघरधुरी चार हजार रुपैयाँका दरले संकलन गरिएको छ । हालसम्म करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी १० प्रतिशत कार्य छिट्टै पूरा हुने बित्तिकै घरघरमा पानी आपूर्ति सुरु हुने जनाइएको छ । यससँगै सर्केगार्डवासीको वर्षौंदेखिको खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान हुने अपेक्षा गरिएको छ ।









