२०८३ वैशाख ९ , बुधबार

झुप्रा खोला किनारको बस्ती बाढीको उच्च जोखिममा



सुर्खेत ।  वीरेन्द्रनगर नगरपालिका–११ स्थित झुप्रा खोला किनारमा रहेको बस्ती वर्षायाममा बाढीको उच्च जोखिममा रहेको सरोकारवालाहरूले बताएका छन् । मुगोल मिडियाद्वारा वीरेन्द्रनगरमा आयोजित ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी मिडिया एड्भोकेसी’ कार्यक्रममा वक्ताहरूले अनियन्त्रित बालुवा उत्खननका कारण बस्ती थप संकटमा परेको औँल्याएका हुन् । कार्यक्रममा पत्रकार मानबहादुर वलीले प्रस्तुत गरेको ‘फोटो स्टोरी’मा झुप्रा खोलामा २०७७ सालदेखि मेसिन प्रयोग गरी भइरहेको बालुवा तथा गिट्टी उत्खननका कारण खोला गहिरिँदै गएको र भेरी किनार नजिकको बस्ती बाढी तथा कटानको प्रत्यक्ष जोखिममा परेको उल्लेख गरिएको थियो ।

प्रस्तुतीकरणअनुसार सो क्षेत्रमा हाल करिब एक सय ८३ घरपरिवार बसोबास गर्दै आएका छ न् । तर, वीरेन्द्रनगर नगरपालिकासँग बस्तीको एकिन घरपरिवार र जनसंख्याबारे आधिकारिक तथ्याङ्क नभएको पनि उल्लेख गरिएको छ । साथै, स्थानीय तहबाट बाढी पूर्वतयारी तथा सुरक्षा व्यवस्थामा पर्याप्त ध्यान नपुगेको अवस्था देखिएको सहभागीहरूले बताएका छन् । २०७७ सालदेखि वीरेन्द्रनगर नगरपालिका र लेकवेशी नगरपालिकाले आलोपालो ठेक्का प्रक्रियामार्फत मेसिन प्रयोग गरी बालुवा उत्खनन गर्दै आएका छन् । यसले खोलाको प्राकृतिक संरचना बिग्रँदै जाँदा वर्षायाममा बस्ती नै कटानमा पर्ने जोखिम बढेको सरोकारवालाहरूको भनाइ छ ।

फोटो स्टोरीपछि भएको प्यानल छलफलमा वीरेन्द्रनगर नगरपालिकाको विपद् व्यवस्थापन समिति संयोजक खिमलाल देवकोटाले आगामी बजेटमार्फत बस्ती व्यवस्थापनलाई प्राथमिकतामा राख्ने बताए । उनले बस्तीमा दोहोरो घरधुरी र अस्थायी बसोबासका कारण व्यवस्थापनमा जटिलता भए पनि अब समाधानतर्फ अघि बढ्ने प्रतिबद्धता जनाए । त्यस्तै, विपद् जोखिम न्यूनीकरण फोकल पर्सन प्रकाश पौडेलले नीतिगत सुधारसहित बस्ती व्यवस्थापन र जोखिम न्यूनीकरणका कार्यलाई अघि बढाइने जानकारी दिए ।

युएनडिपीको ‘सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (सुपर–२)’ को प्राविधिक सहयोगमा आयोजित उक्त कार्यक्रममा झुप्रा खोला मात्र नभई वीरेन्द्रनगरका विभिन्न १० वटा क्षेत्रका विपद् जोखिम अवस्थालाई फोटोस्टोरीमार्फत उजागर गरिएको थियो । कार्यक्रममा निकास खोला डुबान, इत्राम खोला किनारका असुरक्षित बस्ती, रातानाङ्लाको मौसमी अवस्था, राउटे समुदायको जोखिम तथा नगरको आपत्कालीन तयारीलगायत विषय पनि समेटिएका थिए ।

प्रकाशित मिति : २०८३ वैशाख ९ गते बुधबार