जाजरकोट । भेरी नगरपालिका–७ स्थित स्याउली बजारमा निर्माण भइरहेको नगर अस्पताल भवनको काम अन्तिम चरणमा पुगेको छ । स्थानीय तहले गाउँवस्तीका सर्वसाधारणलाई नजिकमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सुरु गरेको यस परियोजनाले अब मूर्त रूप लिन लागेको हो । भेरी नगरपालिकाले २०८१ फागुन १७ गते पाँच शय्याको अस्पताल भवन निर्माणका लागि चार करोड ३४ लाख नौ हजार आठ सय रुपियाँको लागतमा वाइ के कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो। उक्त सम्झौताअनुसार २०८२ असार १५ गतेसम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
निर्माण व्यवसायी नरेश आचार्यका अनुसार हालसम्म करिब ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ। बाँकी पाँच प्रतिशत काम पनि असारको पहिलो हप्ताभित्र पूरा गरी भवन नगरपालिकालाई हस्तान्तरण गरिने तयारी रहेको उनले जानकारी दिए । साना प्राविधिक कामहरू बाँकी रहे पनि ती निर्धारित समयमै सम्पन्न हुने विश्वास गरिएको छ । यस क्षेत्रका सर्वसाधारण बिरामी पर्दा उपचारका लागि नेपालगञ्ज, सुर्खेत वा काठमाडौँसम्म निजी सवारीमार्फत जानुपर्ने बाध्यता थियो, जसले आर्थिक रूपमा कमजोर समुदायलाई झनै मारमा पार्दै आएको थियो । सोही समस्यालाई समाधान गर्न स्थानीय सरकारले गाउँनजिकै अस्पताल भवन निर्माणको पहल गरेको हो ।
भेरी नगरपालिकाका इन्जिनियर मोहन मल्लका अनुसार सरकारी मापदण्डअनुसार नगरपालिकामा कम्तीमा १५ शय्याको अस्पताल आवश्यक भए पनि सदरमुकाम क्षेत्रमा पहिले नै ५० शय्याको अस्पताल सञ्चालनमा रहेको छ । त्यसैले जनतासम्म सेवा पहुँच विस्तार गर्ने उद्देश्यले नयाँ स्थानमा यो अस्पताल निर्माण गरिएको हो । स्थानीय बासिन्दा गोरख चन्दले निर्माणाधीन अस्पताल सञ्चालनमा आएपछि गाउँवस्तीका नागरिकले सहज रूपमा उपचार सेवा पाउने विश्वास व्यक्त गरे उनले अस्पताल छिट्टै सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग आग्रहसमेत गरे गाउँमै अस्पताल भवन निर्माण भएपछि विशेषगरी गरिब, दलित तथा विपन्न समुदायका नागरिकहरू स्वास्थ्य सेवाबाट वञ्चित हुने अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ ।









