डोल्पा । हिमाली जिल्ला डोल्पामा सञ्चार पहुँच विस्तार गर्ने उद्देश्यले फोरजी सेवा विस्तारका लागि करोडौं रुपैयाँ बराबरको बजेट माग गरिएको छ । जिल्लाबाट निर्वाचित सांसद धनबहादुर बुढाको नेतृत्वमा सरोकारवालाहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सिंहदरबार पुगेर समग्र जिल्लामा गुणस्तरीय टावर विस्तारका लागि योजना सहित बजेट माग गरेका हुन् । आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्ताव गरिएको योजना अनुसार काइके, छार्काताङसोङ, डोल्पोबुद्ध, शे–फोक्सुण्डो र जगदुल्ला गाउँपालिकामा फोरजी सेवा विस्तार गर्ने लक्ष्य राखिएको छ ।
साथै त्रिपुरासुन्दरी क्षेत्रका रंग, बन्तडी, दापु, मुहु, हुम, सुँ, जिउ, शे–फोक्सुण्डोका पुग्मो, छेक्पा, रेची, ठूलीभेरीका लाहरा, तिप्ला, रह, परिला र फुनाल्दो लगायतका गाउँहरूमा टावर निर्माण तथा सञ्चालनका लागि करिब ५ करोड रुपैयाँको योजना प्रस्ताव गरिएको छ । यसैगरी डोल्पाका मौरे र रसीमा रहेका मुख्य टावरहरूको क्षमता अभिवृद्धि तथा आवश्यक पूर्वाधार निर्माणका लागि थप ५ करोड रुपैयाँ बजेट माग गरिएको सांसद बुढाले जानकारी दिए ।
दूरदराजका बस्तीहरूमा अझै पनि भरपर्दो सञ्चार सेवा नपुगेको अवस्थामा डिजिटल पहुँच विस्तार अत्यावश्यक रहेको भन्दै उक्त योजना तत्काल कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनासँगको भेटमा प्रस्तुत गरिएका योजनाहरू आगामी आर्थिक वर्षमा समेट्ने आश्वासन प्राप्त भएको पनि सांसद बुढाले जानकारी दिए ।









