सुर्खेत । कर्णाली क्षेत्रको पर्यटन, कला–संस्कृति र चलचित्र विकासलाई केन्द्रमा राख्दै “घूमौं कर्णाली, हेरौं कर्णाली” नारासहित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (KIFF) २०२६ आयोजना हुने भएको छ । महोत्सवले कर्णालीलाई चलचित्र पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ । नेपाली चलचित्रको प्रवर्द्धन र विकाससँगै कर्णालीको पर्यटन सम्भावनालाई उजागर गर्ने उद्देश्यले आयोजना हुन लागेको यस महोत्सवले शहरदेखि गाउँसम्म चलचित्र र पर्यटनलाई जोड्ने विविध कार्यक्रम सञ्चालन गर्नेछ । कर्णाली क्षेत्रमा प्रशस्त प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्भावना भए पनि पर्यटन र चलचित्रसम्बन्धी गतिविधि न्यून रहेको सन्दर्भमा महोत्सवलाई महत्वपूर्ण पहलका रूपमा हेरिएको छ ।
महोत्सवमार्फत कर्णालीका मौलिक कथा, जीवनशैली, भाषा, भेषभूषा, कला, संस्कृति, परम्परा र रीतिरिवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने लक्ष्य राखिएको छ। “जनजनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्र” भन्ने अभियानसहित ‘गन्तव्य कर्णाली’ अवधारणालाई अघि बढाइएको आयोजकको भनाइ छ । यसअघि पनि कर्णालीका विभिन्न जिल्लामा महोत्सवसम्बन्धी गतिविधि सञ्चालन गर्दै चलचित्र पर्यटनको सम्भावना पहिचान, अध्ययन र प्रवर्द्धनका प्रयास गरिएको जनाइएको छ । महोत्सवले चलचित्र निर्माता, निर्देशक तथा सम्बन्धित संघ–संस्थालाई कर्णालीतर्फ आकर्षित गर्दै स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वयको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
यस वर्ष महोत्सवले कर्णालीका लुकेका कथालाई उजागर गर्न चलचित्र कथा प्रतियोगिता समेत घोषणा गरेको छ । प्रतियोगितामा छनोट हुने उत्कृष्ट कथालाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ । साथै, जलवायु परिवर्तनका विषयमा सन्देश दिने चलचित्रलाई विशेष प्रोत्साहन गर्ने कार्यक्रम पनि समावेश गरिएको छ । महोत्सवअन्तर्गत वैशाख ११ गते वीरेन्द्रनगर, सुर्खेतस्थित होटल शुभमा उद्घाटन तथा चलचित्र पर्यटन संवाद कार्यक्रम आयोजना हुनेछ भने वैशाख १२ गते सल्यानको कुपिण्डेदहमा ‘कुपिण्डे चलचित्र पर्यटन समारोह’ सञ्चालन गरिनेछ ।
आयोजकका अनुसार महोत्सवले कर्णालीका पर्यटकीय तथा धार्मिक स्थल, सम्भावित छायाङ्कन स्थल र स्थानीय संस्कृति–कला विश्वमाझ चिनाउने अवसर सिर्जना गर्नेछ । साथै, चलचित्र र पर्यटनमार्फत रोजगारी सिर्जना, आर्थिक गतिविधि विस्तार तथा सामाजिक चेतना अभिवृद्धिमा योगदान पुग्ने अपेक्षा गरिएको छ । महोत्सवलाई सफल बनाउन संघीय, प्रदेश र स्थानीय तहका सरकारी निकाय, चलचित्र क्षेत्र, पर्यटन व्यवसायी, नागरिक समाज र सञ्चारकर्मीको सहयोग रहने विश्वास आयोजकले व्यक्त गरेको छ ।









