२०८३ वैशाख ११ , शुक्रबार

अन्तरनिकाय सहकार्यको नयाँ अभ्यास



सल्यान । कपुरकोट गाउँपालिकामा अन्तरनिकाय सहकार्यको नयाँ अभ्यास सुरु गरिएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ का कार्यक्रमहरूलाई प्रभावकारी बनाउने उद्देश्यले गाउँपालिकाले विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य विस्तार गर्ने पहल गरेको हो । यसै सन्दर्भमा अन्तरक्रिया तथा पूर्वबजेट छलफल सम्पन्न भई आगामी वर्षका लागि साझा योजना तय गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलको संयोजकत्वमा सम्पन्न बैठकले अन्तरनिकाय सहकार्यको ढाँचा र प्राथमिकताहरू निर्धारण गरेको छ । बिहीबार आयोजित छलफलमा गाउँपालिका, वनस्पति अनुसन्धान केन्द्र सल्यान, राष्ट्रिय अदुवाबाली अनुसन्धान कार्यक्रम, सामुदायिक वन उपभोक्ता महासंघ, सब–डिभिजन कार्यालय तथा विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिहरूबीच जनसरोकारका विषय, अनुसन्धान तथा विकासका सम्भावनाबारे विस्तृत छलफल भएको थियो ।

वनस्पति अनुसन्धान केन्द्रका प्रमुख वैज्ञानिक अधिकृत डा. मित्र पाठकका अनुसार उक्त छलफलले आगामी वर्ष सहकार्य गर्न सकिने प्रमुख क्षेत्रहरूको प्राथमिकता तय गरेको छ । छलफलबाट विभिन्न साझेदारी कार्यक्रम अघि बढाउने निर्णय गरिएको छ । गाउँपालिका, वनस्पति अनुसन्धान केन्द्र र राष्ट्रिय अदुवाबाली अनुसन्धान कार्यक्रमको सहकार्यमा प्रत्येक वर्ष जेठ महिनामा “रासायनिक विषादी न्यूनीकरण सप्ताह” सञ्चालन गरिनेछ । साथै अदुवाबाली अनुसन्धान कार्यक्रमसँगको सहकार्यमा ट्राइकोडर्मा (जैविक ढुसी) उत्पादन तथा विस्तार कार्यक्रम आगामी आर्थिक वर्षमा समावेश गरिनेछ ।

गैरसरकारी संस्था दलित विकास समाज नेपालको सहकार्यमा जलवायु अनुकूल योजना निर्माण गर्ने तयारी गरिएको छ । त्यस्तै आइपिएस नेपालको सहयोगमा “यौन तथा प्रजनन स्वास्थ्यका लागि स्वास्थ्य प्रणाली सुदृढीकरण” कार्यक्रम कपुरकोटमा कार्यान्वयन गर्ने प्रारम्भिक समझदारी समेत भएको छ । वनस्पति अनुसन्धान केन्द्रसँगको सहकार्यमा गाउँपालिकाको ‘बायोडाइभर्सिटी प्रोफाइल’ तयार गरिनेछ । त्यस्तै सामुदायिक वन उपभोक्ता महासंघ, सब–डिभिजन कार्यालय र गाउँपालिकाको साझेदारीमा “कोसेली घर” सञ्चालन गर्ने निर्णय गरिएको छ । यसका लागि गाउँपालिकाले बीउ पुँजी उपलब्ध गराई सार्वजनिक–निजी साझेदारी (PPP) मोडेलमा कार्यक्रम सञ्चालन गरिनेछ ।

सामुदायिक वनसँगको सहकार्यमा मागमा आधारित आयआर्जन कार्यक्रम सञ्चालन गर्ने, पशुपालन प्रवर्द्धनका लागि अम्रिसो खेती विस्तार गर्ने तथा मिचाहा वनस्पति ‘बनमारा’बाट जैविक मल उत्पादन कार्यक्रम पाइलटिङका रूपमा सुरु गर्ने योजना पनि तय गरिएको छ । यसैगरी दलित विकास समाजसँगको सहकार्यमा चालु आर्थिक वर्षभित्रै “कपुरकोट गाउँपालिका युवा ऐन” निर्माण गरिनेछ । साथै गाउँपालिकाभित्र रहेको ‘बेरोजगार बैंक’ अद्यावधिक गरी आवश्यक जनशक्ति सोही बैंकमार्फत ज्यालादारीमा परिचालन गर्ने व्यवस्था मिलाइने निर्णय गरिएको छ ।

अन्तरनिकाय सहकार्यलाई निरन्तरता दिन प्रत्येक त्रैमासिक रूपमा साझेदार निकायबीच समन्वय बैठक बस्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न शाखा प्रमुखहरू तथा सम्बन्धित सरकारी र गैरसरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति : २०८३ वैशाख ११ गते शुक्रबार