सुर्खेत । सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिकाबीच उच्च शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले ‘उच्च शिक्षा शैक्षिक छात्रवृत्ति अक्षयकोष २०८३’ सम्बन्धी ऐतिहासिक सम्झौता सम्पन्न भएको छ । बिहीबार आयोजित विशेष समारोहमा नगरपालिकाका तर्फबाट नगर प्रमुख मोहनमाया ढकाल र विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले सम्झौतापत्रमा हस्ताक्षर गरे। स्थानीय सरकार र प्राज्ञिक संस्थाबीचको यस सहकार्यले कर्णाली प्रदेशको शैक्षिक विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।
सम्झौताअनुसार कुल २ करोड २ लाख २ हजार २ सय २ रुपैयाँको ‘अक्षयकोष’ स्थापना गरिएको छ । उक्त कोषबाट प्राप्त हुने ब्याज वा निश्चित रकममार्फत वीरेन्द्रनगर क्षेत्रका जेहेन्दार, विपन्न तथा पिछडिएका विद्यार्थीहरूलाई मध्यपश्चिम विश्वविद्यालयमा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिनेछ । विश्वविद्यालयले आफ्नो स्थायी कोष (Endowment Fund) निर्माणसम्बन्धी कार्यविधि पारित गरेसँगै समुदाय र स्थानीय सरकारसँगको सहकार्यलाई थप सुदृढ बनाएको छ ।
कार्यक्रममा बोल्दै नगर प्रमुख मोहनमाया ढकालले प्रदेश राजधानीको नगरपालिका हुनुका नाताले विश्वविद्यालयसँग सहकार्य गर्नु आवश्यक रहेको बताले स्थानीय सरकारले विद्यालय शिक्षामात्र नभई उच्च शिक्षाको दायित्व पनि वहन गर्नुपर्छ भन्ने सोचका साथ यो अक्षयकोष स्थापना गरेका हौँ, उनले भने । उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले आफ्नो नेतृत्वकालमा विश्वविद्यालयलाई समुदायसँग जोड्ने लक्ष्यअनुसार यो सम्झौता महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे ।
कार्यक्रम योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्काको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा नगर उपप्रमुख निलकण्ठ खनाल, विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. पन्ना थापा, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद बाँस्कोटा लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । यसैगरी विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य, विश्वविद्यालयका डीनहरू, प्राध्यापक तथा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) प्रतिनिधिहरूको सहभागिताले कार्यक्रमलाई थप महत्वपूर्ण बनाएको थियो ।









