कालीकोट । मन्त्रीपरिषद्को निर्णयपछि महावै गाउँपालिका मात्र होइन, समग्र कालीकोटका नागरिकमा खुशी छाएको छ । स्थानीयका अनुसार प्रदेश सरकारले जिल्लाको प्रमुख समस्या पहिचान गरी समाधानतर्फ अग्रसर भएको छ । महावै गाउँपालिकाको केन्द्रसम्म सडक पहुँच विस्तार गर्न सेरावाडा–पात्माघाट सडक निर्माणका लागि ५१ करोड रुपैयाँ बजेट सुनिश्चित भई ठेक्का प्रक्रिया अघि बढिसकेको छ । यसमध्ये १० करोड प्रदेश सरकारले विनियोजन गरेको छ भने बाँकी रकम विश्व बैंकले व्यवस्थापन गर्नेछ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले महावै गाउँपालिका केन्द्रसँग सडक नजोडिएको एक मात्र स्थानीय तह भएकाले यसलाई प्राथमिकतामा राखिएको बताए । उनका अनुसार प्रदेश सरकार संघसँगको समन्वयमा अन्य स्थानीय तहमा पनि सडक विस्तार अभियान अघि बढाइरहेको छ । कर्णाली राजमार्गदेखि पादमघाट हुँदै महावै गाउँपालिका केन्द्र जोड्ने करिब छ किलोमिटर सडक निर्माणका लागि ठेक्का भई काम सुरु गर्ने तयारी भइरहेको छ ।
महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले प्रदेश सरकारले स्थानीय समस्या सम्बोधन गरेको भन्दै संघीय सरकारबाट मन्त्रीपरिषद्को निर्णय भएपछि काम अझ सहज हुने विश्वास व्यक्त गर्नुभयो। कठिन भौगोलिक अवस्थाका कारण पछाडि परेको महावै अब सडक सञ्जालमा जोडिनेमा स्थानीय आशावादी छन् ।









