जुम्ला । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा देशभरका स्थानीय तहमा ५ देखि १५ बेड क्षमताका अस्पताल निर्माण गर्ने योजना अघि सारेपछि कर्णाली प्रदेशका ४१ स्थानीय तहमा ४२ अस्पताल निर्माणका लागि छनोट गरिएको थियो । जसमध्ये जुम्लाका कनकासुन्दरी र तिला गाउँपालिका पनि समावेश थिए । कनकासुन्दरी गाउँपालिकामा १५ बेड क्षमताको अस्पताल निर्माणका लागि २०७७ मंसिरमा शिलान्यास गरिएको थियो । कनकासुन्दरी–५ हाटसिंजामा निर्माण हुने उक्त अस्पताल सात वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन ।
करिब १८ करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको परियोजना १५ करोड रुपैयाँमा ठेक्का लागेको थियो । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि ठेकेदार कम्पनीको लापरबाहीका कारण काम लामो समयसम्म अलपत्र परेको थियो । निर्माण कम्पनीले पेश्की रकम लिएर काम अघि नबढाएपछि स्थानीयवासी निराश बनेका थिए । स्थानीय २२ जनाले निःशुल्क रूपमा ३५ सय वर्गमिटर जग्गा उपलब्ध गराए पनि निर्माण कार्यले गति लिन सकेन। ठेकेदारको लापरबाहीसँगै गाउँपालिकाको कमजोर निगरानीका कारण परियोजना ढिलाइ भएको बताइएको छ ।
हाल भने निर्माण कार्यले गति लिन थालेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र भण्डारीका अनुसार मुख्य ठेकेदारको निधनपछि नयाँ निर्माण व्यवसायीले जिम्मेवारी लिएसँगै काम अघि बढेको हो । अहिले भवनको पहिलो तला ढलानको चरणमा पुगेको छ । यसैबीच, तिला गाउँपालिका–३ कुडारीमा निर्माणाधीन १० बेड क्षमताको अस्पताल पनि निर्धारित समयमै सम्पन्न हुन सकेको छैन । २०७७ मंसिर २१ गते शिलान्यास गरिएको उक्त अस्पताल २०७९ माघसम्म सम्पन्न गर्ने लक्ष्य भए पनि सात वर्ष बितिसक्दा पनि निर्माण कार्य पूरा भएको छैन ।
संघीय सरकारको करिब १२ करोड रुपैयाँ बजेटमा निर्माण भइरहेको अस्पताल ढिलाइ हुँदा स्थानीयवासी सेवा पाउनबाट वञ्चित छन् । समयमै उपचार नपाउँदा समस्यामा परेका तिलावासी गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा पाउने प्रतीक्षामा छन् । तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाका अनुसार निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। उनले निर्माण कम्पनीले चालु आर्थिक वर्षभित्रै अस्पताल हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको जानकारी दिनुभयो। हाल झ्याल–ढोका जडान र रङरोगनका काम बाँकी छन्।









