रुकुमपश्चिम । रुकुमपश्चिमका निर्माण व्यवसायीहरूले पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि नियन्त्रण नगरे विकासनिर्माणका काम ठप्प हुने चेतावनी दिएका छन् ।प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीमार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पेस गर्दै व्यवसायीहरूले इन्धनको बढ्दो मूल्यले निर्माण लागत असह्य रूपमा बढाएको गुनासो गरेका छन् । उनीहरूका अनुसार डिजेल, पेट्रोल र मटितेलमा भइरहेको अप्रत्याशित मूल्यवृद्धिले निर्माण क्षेत्र गम्भीर संकटतर्फ धकेलिएको छ ।
निर्माण व्यवसायी सङ्घका जिल्ला अध्यक्ष परवीर डाँगीले भौतिक पूर्वाधार विकासको आधार मानिने निर्माण उद्योग अहिले जर्जर अवस्थामा पुगेको बताए । उनले मूल्यवृद्धि रोक्न र निर्माण क्षेत्रलाई जोगाउन सरकारसँग तत्काल हस्तक्षेपको माग गरिएको जानकारी दिए । व्यवसायीहरूले राष्ट्रिय गौरवका आयोजनादेखि स्थानीयस्तरसम्मका विकास निर्माण कार्य प्रभावित भइरहेको उल्लेख गर्दै निर्माण उद्योगमा आपत्काल घोषणा गरी विशेष राहत प्याकेज ल्याउन माग गरेका छन् ।
साथै, मूल्य समायोजन मार्गदर्शन–२ तुरुन्त जारी गर्न पनि जोड दिएका छन् । ज्ञापनपत्रमा स्थानीय नदीजन्य निर्माण सामग्री तथा क्रसर उद्योगमा प्रदेशस्तरबाट भइरहेको नियमनका कारण झन् जटिलता थपिएको उल्लेख गरिएको छ । यस्तो व्यवस्थाले निर्माण सामग्री उत्खनन र सङ्कलनमा अवरोध सिर्जना गरेको व्यवसायीहरूको भनाइ छ । यसैबीच, व्यवसायीहरूले पेट्रोलियम पदार्थको मूल्य आकासिएको भन्दै जिल्ला दररेट पुनरावलोकन गर्न पनि माग गरेका छन् ।
अर्को ज्ञापनपत्रमार्फत उनीहरूले मध्यपूर्वमा जारी द्वन्द्वका कारण डिजेल, पेट्रोल, बिटुमिन लगायत निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले विकास निर्माण कार्यमा प्रत्यक्ष असर परेको बताएका छन् । निर्माण क्षेत्रसँग सम्बन्धित हजारौँ श्रमिक तथा व्यवसायीको भविष्य संकटमा पर्ने भन्दै व्यवसायीहरूले सरकारसँग तत्काल ठोस कदम चाल्न आग्रह गरेका छन्









