२०८३ वैशाख १३ , आइतबार

शिक्षक व्यवस्थापन नहुदा शिक्षाकाे गुणस्तरमा चुनौती



सल्यान ।  सल्यानका सामुदायिक विद्यालयमा शिक्षक र विद्यार्थीको अनुपात असन्तुलित हुँदा शैक्षिक सिकाइमा प्रत्यक्ष असर परेको देखिएको छ । विद्यार्थी सङ्ख्या निरन्तर घट्दै जाँदा विद्यालय संरचनालाई पुनः व्यवस्थित गर्नुपर्ने अवस्था सिर्जना भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ सल्यानका अनुसार शैक्षिक सत्र २०८२ मा जिल्लाभर रहेका चार सय ३२ सामुदायिक विद्यालयमध्ये एक सय ७६ विद्यालयमा ५० भन्दा कम विद्यार्थी रहेका छन् भने दुई सय ६६ विद्यालयमा एक सयभन्दा कम विद्यार्थी अध्ययनरत छन् ।

स्थानीय तहगत विवरण हेर्दा बागचौर नगरपालिकाका ६८ विद्यालयमध्ये ३० वटामा ५० भन्दा कम र ३९ विद्यालयमा सयभन्दा कम विद्यार्थी छन् । वनगाढ कुपिन्डे नगरपालिकाका ६५ विद्यालयमध्ये २४ वटामा ५० भन्दा कम र ३९ विद्यालयमा सयभन्दा कम विद्यार्थी रहेका छन् । शारदा नगरपालिकाका ५६ विद्यालयमध्ये २७ वटामा ५० भन्दा कम र ४० विद्यालयमा सयभन्दा कम विद्यार्थी अध्ययनरत छन् । जिल्लामा कक्षा एक  देखि १२ सम्म कुल २८ हजार छ सय छ  विद्यार्थी अध्ययनरत छन् । तीमध्ये कक्षा एक र पाँच मा नाै हजार पाँच ५८, कक्षा छ र आठमा नाै हजार पाँच सय २० र कक्षा नाै १२ मा नाै हजार पाँच सय २८ विद्यार्थी रहेका छन् ।

शिक्षक दरबन्दीको अवस्थाअनुसार प्राथमिक तहमा पाँच सय ८० दरबन्दी र तिन सय ५६ राहत, निम्न माध्यमिक तहमा एक सय तिन दरबन्दी र एक सय राहत, माध्यमिक तहमा ९९ दरबन्दी र ६३ राहत तथा उच्च माध्यमिक तहमा १६ दरबन्दी र ३४ राहत शिक्षक कार्यरत छन् । कागजी रूपमा शिक्षक–विद्यार्थी अनुपात सन्तुलित देखिए पनि व्यवहारमा शिक्षक वितरण असन्तुलित रहेको पाइएको छ । जिल्ला शिक्षा समन्वय एकाइ सल्यानका प्रमुख शेरबहादुर रोकायले तल्लो कक्षामा शिक्षक बढी र माथिल्लो कक्षामा विषयगत शिक्षकको अभाव रहेको बताए । यस असन्तुलनका कारण कतिपय विद्यालयमा आवश्यक विषयगत शिक्षक नहुँदा पठनपाठन प्रभावकारी हुन सकेको छैन । सरोकारवालाका अनुसार यसले गुणस्तरीय शिक्षामा थप चुनौती सिर्जना गरेको छ ।

ग्रामीण तथा दुर्गम क्षेत्रमा विद्यार्थी सङ्ख्या झन् न्यून देखिएको छ । कतिपय स्थानमा विद्यालय धेरै भए पनि विद्यार्थी कम हुँदा स्रोतसाधनको प्रभावकारी उपयोग हुन सकेको छैन । दार्मा गाउँपालिका तिनका अभिभावक टीका शर्मा वलीका अनुसार बसाइँसराइ, घट्दो जन्मदर र निजी विद्यालयतर्फको आकर्षणका कारण सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएको हो । शिक्षाविद् वीरबहादुर सेजुवालले विद्यालय समायोजन, शिक्षक दरबन्दी पुनर्संरचना र दीर्घकालीन शैक्षिक योजना निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । उहाँका अनुसार घुम्ती विद्यालयको अवधारणा, स्रोतसाधनको उचित व्यवस्थापन र शिक्षकको प्रभावकारी परिचालनमार्फत मात्र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सकिन्छ ।

प्रकाशित मिति : २०८३ वैशाख १३ गते आइतबार