दैलेख । बाँकेको कोहलपुरदेखि सुर्खेत हुँदै दैलेखको चुप्रासम्म विस्तार हुने एक सय ३२ केभी प्रसारण लाइन आयोजनाको काम तीव्र गतिमा अघि बढाइएको छ । आयोजनाअन्तर्गत दैलेखका विभिन्न क्षेत्रमा टावर निर्माण कार्य धमाधम भइरहेको छ । आयोजनाका अनुसार सुर्खेतको सुब्बाकुना देखि दैलेखको चुप्रासम्म कुल एक सय एक वटा टावर निर्माण गरिनेछ । तीमध्ये हालसम्म २५ वटा टावर पूर्ण रूपमा निर्माण सम्पन्न भइसकेका छन् भने ७० वटा टावरको फाउन्डेसन निर्माण कार्य भइरहेको छ । बाँकी संरचनाको काम पनि चरणबद्ध रूपमा अघि बढाइएको कोहलपुर–सुर्खेत–दैलेख एक सय ३२ केभी प्रसारण लाइन आयोजनाका प्रशासन प्रमुख युवराज विष्टले जानकारी दिए ।
उनका अनुसार दैलेख क्षेत्रमा रूख कटानसम्बन्धी निर्णय नेपाल सरकार मन्त्रिपरिषद्बाट चाँडै भए बाँकी निर्माण कार्य समयमै सम्पन्न गर्न सहज हुने अपेक्षा गरिएको छ । स्थानीयस्तरमा देखिएका केही विवाद समाधान हुँदै गएपछि सुर्खेत क्षेत्रमा जग्गा प्राप्तिको काम पनि अघि बढाइएको छ । सुर्खेत–दैलेख खण्डमा करिब ५० प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । आयोजनाका लागि दैलेखमा एक सय एक वटा टावर निर्माण गर्न ४६ जना स्थानीयको करिब छ हजार नाै सय दुई वर्गमिटर जग्गा अधिग्रहण गरिएको छ । यससँगै जग्गा प्राप्तिको प्रक्रिया सम्पन्न भइसकेको छ ।
कर्णालीका विभिन्न जिल्लामा हिउँदमा लो भोल्टेज र बर्खायाममा हावाहुरी तथा वर्षाका कारण विद्युत् संरचनामा क्षति पुग्दा उपभोक्ताले नियमित र गुणस्तरीय विद्युत् सेवा पाउन सकेका छैनन् । यी समस्या समाधानका लागि नेपाल विद्युत् प्राधिकरणले यो प्रसारण लाइनलाई प्राथमिकताका साथ अघि बढाएको हो । पुराना तथा जीर्ण पोल र प्राकृतिक विपत्का कारण हुने क्षतिले वितरण प्रणाली अव्यवस्थित भइरहेका बेला एक सय ३२ केभी प्रसारण लाइन सञ्चालनमा आएपछि कर्णालीवासीले भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पाउने अपेक्षा गरिएको छ ।
करिब ८५ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको यो आयोजनाअन्तर्गत सुर्खेतदेखि दैलेखसम्म ३२ किलोमिटर लामो प्रसारण लाइन निर्माणसँगै दैलेखको चुप्रामा सबस्टेसन निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ । आयोजनाअनुसार सुर्खेत–दैलेख खण्डमा पर्ने एक सय एक टावरमध्ये ५६ वटा दैलेख जिल्लामा र ४५ वटा सुर्खेतमा निर्माण हुनेछन् । आयोजना सम्पन्न भएपछि कर्णालीको विद्युत् आपूर्ति प्रणाली थप सुदृढ हुने अपेक्षा गरिएको छ ।









