सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयू) मा आयोजित तीन दिने ‘बहुविषयगत अन्तर्राष्ट्रिय सम्मेलन–२०२६’ आइतबार भव्य रूपमा सम्पन्न भएको छ । भारतको बिरला ग्लोबल युनिभर्सिटीसँगको सहकार्यमा सम्पन्न सम्मेलनले कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल रूपान्तरणको युगमा दिगो भविष्य निर्माणका लागि महत्वपूर्ण मार्गचित्र प्रस्तुत गरेको छ । समापन समारोहलाई सम्बोधन गर्दै उपकुलपति प्रा.डा. ध्रुवकुमार गौतमले सम्मेलनमा भएका गहन छलफल र निष्कर्षहरूलाई व्यवहारमा लागू गर्न सबै सरोकारवालालाई आग्रह गरे उनले विद्यालयको प्राज्ञिक उन्नतिका लागि समूह कार्य (टिमवर्क) को महत्त्व औंल्याउँदै आयोजक तथा सहभागी सबैलाई धन्यवाद व्यक्त गरे ।
रजिष्ट्रार प्रा.डा. शोभाखर कँडेलले यस ऐतिहासिक आयोजनाले विश्वविद्यालयको अन्तर्राष्ट्रिय पहिचान र गरिमा अभिवृद्धि गरेको बताए । तीन दिनसम्म सञ्चालन भएको सम्मेलनमा विभिन्न विषयगत सत्र, अनुसन्धानपत्र प्रस्तुति तथा प्यानल छलफलहरू सम्पन्न भएका थिए । सम्मेलन व्यवस्थापन समितिका संयोजक डा. यदुप्रसाद ज्ञवालीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै यसले ज्ञान आदानप्रदान र अनुसन्धान विस्तारमा नयाँ सम्भावनाको ढोका खोलेको जानकारी दिनुभयो।सम्मेलनमा बेलायतका प्रा.डा. जोनाथन रिक्स, जर्मनीकी प्रा.डा. सुसान्ने तथा समाज जागरण केन्द्र (स्याक) नेपालका टीकाराम आचार्यलगायतले यसलाई ऐतिहासिक र उपलब्धिमूलक कार्यक्रमको रूपमा व्याख्या गरेका थिए ।
विशेष आकर्षणको रूपमा रहेको ‘उपकुलपतिहरूको राउन्डटेबल’ बैठकमा देशभरका विश्वविद्यालयका नेतृत्वकर्ताहरूले विद्यमान चुनौती, समस्या र भविष्यका अवसरहरूबारे गहन छलफल गरेका थिए । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युतप्रसाद वाग्ले तथा बिरला ग्लोबल विश्वविद्यालयकी डीन प्रा.डा. अर्चना चौधरीले अन्तरविषयगत सहकार्यको आवश्यकतामा जोड दिए ।। विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीका अनुसार एआई र विश्वव्यापी डिजिटल रूपान्तरणले मानव जीवनशैली, अर्थतन्त्र र शासन प्रणालीमा पारिरहेको प्रभावलाई ध्यानमा राख्दै दिगो भविष्यका लागि यस्ता बहस अपरिहार्य रहेको निष्कर्ष सम्मेलनले निकालेको छ । २१ देशका विज्ञहरूको सहभागिता रहेको उक्त सम्मेलनले कर्णाली क्षेत्रबाट विश्व समुदायलाई नयाँ प्राज्ञिक सन्देश दिन सफल भएको विश्वविद्यालयले जनाएको छ ।








