२०८३ वैशाख १४ , सोमबार

अवैध गिट्टी–बालुवा उत्खनन बढ्दो



जुम्ला । जुम्लाका विभिन्न नदी तथा खोलानालामा अवैध रूपमा गिट्टी, बालुवा उत्खनन तीव्र रूपमा बढ्दै गएको छ । यसले प्राकृतिक वातावरण मात्र होइन, स्थानीय पूर्वाधारसमेत जोखिममा पार्न थालेको छ ।  विशेष गरी चन्दननाथ नगरपालिकाका दानसाँघु र उठिल्ले, गुठीचौर गाउँपालिकाका झारज्वाला र गुठीचौर, पातारासी गाउँपालिकाका लासी र उर्थ, तातोपानी गाउँपालिकाको हाँकुटापु, तिलाकोट र राँका आसपासका नदी क्षेत्रमा जथाभाबी उत्खनन भइरहेको छ । यस्तै, तिला गाउँपालिकाका कुडारी, त्रिवेणी र रारा, सिँजा गाउँपालिकाका धितालिही, नराकोट, विष्टवाडा र रनुखाना, कनसुन्दरी गाउँपालिकाका कोटघर र लासीपाटन तथा हिमा गाउँपालिकाका बाघबजार, बाँजागाड र आचार्यलिहीमा समेत अवैध उत्खनन भइरहेको स्थानीयले बताएका छन् ।

स्थानीय सरकारको प्रमुख राजस्व स्रोत मानिने नदीजन्य सामग्री गिट्टी र बालुवा व्यक्तिले मनपरी रूपमा उत्खनन गरी निजी लाभ लिने प्रवृत्ति बढेको छ । कानुनअनुसार स्थानीय तहले कार्यविधि बनाएर व्यवस्थित रूपमा उत्खनन र बिक्री वितरण गर्नुपर्ने भए पनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । अवैध रूपमा डोजर प्रयोग गरी उत्खनन गर्दा नदीको स्वरूप बिग्रँदै गएको छ । यसले माछा, भ्यागुता, सर्पजस्ता जलचर प्राणीको अस्तित्वमा समेत संकट पैदा गरेको छ ।

तातोपानी गाउँपालिका–४, हाँकुटापु क्षेत्रमा वर्षभरि नै गिट्टी–बालुवा उत्खनन भइरहेको छ । यसको प्रत्यक्ष असर त्यहाँ रहेको रङ्गशालामा परेको छ, जुन अहिले जोखिममा परेको छ । स्थानीय पूर्वाधार आयोजना कार्यालय, प्रदेश एकाइ सुर्खेतले गत आर्थिक वर्ष २०८१/८२ मा करिब एक करोड रुपैयाँ लागतमा निर्माण गरिरहेको रङ्गशालाको घेरा–पर्खालसमेत अवैध उत्खननका कारण भत्किएको छ । अवैध उत्खनन रोक्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइए पनि हालसम्म प्रभावकारी पहल नदेखिएको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०८३ वैशाख १४ गते सोमबार