सुर्खेत । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा तेस्रो त्रैमासिक प्रगति समीक्षा कार्यक्रम वीरेन्द्रनगर, सुर्खेतमा सुरु भएको छ। दुई दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा मन्त्रालय र मातहतका कार्यालयहरूले चालु आर्थिक वर्षको प्रगति, उपलब्धि तथा चुनौतीहरूको विस्तृत प्रस्तुति गर्नेछन् । कार्यक्रमको उद्घाटन सत्रमा मन्त्रालयका उच्च अधिकारीहरूले विगत नौ महिनामा भएका कार्यसम्पादनको समग्र समीक्षा गर्दै आगामी कार्ययोजनालाई प्रभावकारी बनाउने उद्देश्य व्यक्त गरेका छन् ।
समीक्षा कार्यक्रममा विशेषगरी कृषि उत्पादन वृद्धि, भूमि व्यवस्थापन सुधार, सहकारी क्षेत्रको सुदृढीकरण तथा सेवा प्रवाहमा देखिएका समस्याहरूको पहिचान र समाधानका उपायहरूमा केन्द्रित छलफल हुने जनाइएको छ । मन्त्रालयअन्तर्गत रहेका २९ वटा कार्यालयहरूले आ–आफ्नो कार्यक्षेत्रअनुसारको प्रगति विवरण प्रस्तुत गर्नेछन् । प्रस्तुतिमा योजनाको कार्यान्वयन अवस्था, बजेट खर्चको स्थिति, उपलब्धि तथा चुनौतीहरू समेटिनेछ । यसका साथै, आगामी चौथो त्रैमासिकका लागि रणनीति तय गर्ने विषयमा पनि गहन छलफल हुने कार्यक्रम रहेको छ ।
कार्यक्रममा सहभागी अधिकारीहरूले समीक्षा प्रक्रियाले कामको प्रभावकारिता बढाउन, कमजोरी सुधार गर्न र नीतिगत निर्णयलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । मन्त्रालयले नियमित रूपमा गर्ने यस्ता समीक्षा कार्यक्रमले समग्र कृषि तथा भूमि व्यवस्थापन क्षेत्रको विकासमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ । दुई दिनसम्म चल्ने उक्त कार्यक्रमको अन्त्यमा प्राप्त सुझाव तथा निष्कर्षलाई समेटेर आगामी योजना निर्माण र कार्यान्वयनमा प्रयोग गरिने मन्त्रालयले जनाएको छ ।








