२०८३ वैशाख १४ , सोमबार

सुन्तलामा फैलियो खराने रोग, किसान चिन्तित



सल्यान  ।  वैशाख लागेसँगै सुन्तलाका बोटमा सेतो धुलोजस्तो देखिने खराने रोग (पाउडरी मिल्ड्यु) देखा पर्न थालेपछि सल्यानका किसानहरू चिन्तित बनेका छन् । सामान्यतया असारतिर देखिने यो रोग यस वर्ष भने समयभन्दा अगावै फैलिन थालेको किसानहरूको भनाइ छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका–१ अन्तर्गत खोरबारे र डिग्रे क्षेत्रका सुन्तला बगैंचामा नयाँ पात र कलिला मुनामा रोग देखिएको छ, जसका कारण उत्पादनमा असर पर्ने चिन्ता बढेको हो । रोगसँगै बोटको फेद कुहिने समस्या पनि देखिन थालेपछि किसानहरूको मुख्य आम्दानी स्रोत जोखिममा परेको छ ।

खोरबारेका किसान ज्ञानबहादुर वलीका अनुसार उनका करिब एक सय फल दिने र थप तीन सय सुन्तलाका बोटमा पातमा धुलो छरेझैँ देखिने रोग देखिएको छ । साथै, बोटको जरातिर समेत कुहिने समस्या देखिन थालेको उनले जानकारी दिए । स्थानीयका अनुसार खोरबारे क्षेत्रमा मात्रै करिब ४० घरधुरी किसानका सुन्तलामा खराने रोग फैलिएको छ । असारतिर मात्र देखिने रोग यस वर्ष वैशाखको पहिलो सातामै देखिनु असामान्य भएको उनीहरूको भनाइ छ । किसानहरूका अनुसार सुरुमा पात र नयाँ पालुवामा सेतो धुलोजस्तो देखिने यो रोग विस्तारै कलिला फलमा समेत फैलिन्छ ।

समयमै नियन्त्रण गर्न नसके फल झर्ने, पात खस्ने, बोटको टुप्पो सुक्ने र अन्ततः हाँगा मर्ने अवस्था आउन सक्छ, जसले उत्पादनमा ठूलो गिरावट ल्याउँछ । गत वर्ष वडा कार्यालयमार्फत ५० प्रतिशत अनुदानमा रोग नियन्त्रणका लागि औषधी उपलब्ध गराइएको भए पनि यस वर्ष त्यस्तो सुविधा नपाएको किसानहरूको गुनासो छ । समयमै औषधी नपाउँदा रोग नियन्त्रणमा समस्या भएको उनीहरूले बताएका छन् । कृषि विज्ञहरूले रोग नियन्त्रणका लागि प्रारम्भिक चरणमै सचेत हुन सुझाव दिएका छन् ।

नयाँ पालुवा आउने समय, बढी ओसिलो वातावरण तथा वर्षाको समयमा यस्तो रोगको जोखिम बढ्ने भएकाले सुरुमै संक्रमित हाँगा काटेर हटाउनुपर्ने उनीहरूको भनाइ छ । रोगको संक्रमण बढेमा कृषि प्राविधिकको सल्लाहमा सल्फर धुलो वा घरेलु उपायका रूपमा गाईको गहुँत प्रयोग गर्न सुझाव दिइएको छ । समयमै प्रभावकारी नियन्त्रण उपाय अपनाउन नसकिए सुन्तला खेतीमा ठूलो क्षति पुग्ने जोखिम रहेको भन्दै किसानहरूले सम्बन्धित निकायसँग आवश्यक सहयोग र औषधी उपलब्ध गराउन माग गरेका छन् ।

प्रकाशित मिति : २०८३ वैशाख १४ गते सोमबार