रुकुम पश्चिम । जिल्लाकाे मुसिकोट नगरपालिका यतिबेला फोहोर व्यवस्थापनको गम्भीर संकटबाट गुज्रिरहेको छ । बजार क्षेत्रमा महिनौँ देखि थुप्रिएको फोहोरका कारण जनस्वास्थ्य, वातावरण तथा नगरको सौन्दर्यमा नकारात्मक असर परेको छ । नगर प्रमुख महेन्द्र के.सी.ले ल्याण्डफिल्ड साइट निर्माणका लागि विभिन्न चरणमा संवाद र पहल गरे पनि कार्यान्वयनको अन्तिम अवस्थामा आएर प्रक्रिया अवरुद्ध भएको छ । यसले समस्या प्राविधिकभन्दा बढी राजनीतिक र नियतसँग जोडिएको देखिएको छ ।
स्थानीयस्तरमा सहमति जुटाउने प्रयास भए पनि अन्तिम चरणमा पुगेपछि देखिएको असहयोग र सरोकारवाला निकायहरूको मौनताले समस्या झन् जटिल बनेको छ । अल्पकालीन व्यवस्थापनका लागि समेत उपयुक्त स्थान नपाइनु व्यवस्थापनको कमजोरीको संकेत मानिएको छ । विश्लेषकहरूका अनुसार मुसिकोटमा फोहोर व्यवस्थापनको विषयमा ‘बाहिर समर्थन, भित्र विरोध’ को प्रवृत्ति देखिएको छ । केही राजनीतिक समूहले आफ्नै स्वार्थका कारण विकासका योजनामा अवरोध सिर्जना गरिरहेको आरोप लाग्दै आएको छ ।
यसले विकासप्रति साझा प्रतिबद्धताको अभाव देखाएको छ । फोहोर व्यवस्थापनका लागि दीर्घकालीन समाधान आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । सर्वदलीय सहमति, आधुनिक प्रविधिमा आधारित फोहोर व्यवस्थापन (रिसाइक्लिङ तथा कम्पोस्टिङ), प्रशासनिक सक्रियता, घरधुरी स्तरमै फोहोर वर्गीकरण तथा नागरिक सचेतनालाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ । विज्ञहरूका अनुसार स्रोतमै फोहोर छुट्याउने व्यवस्था लागू गर्न सके फोहोरको ठूलो हिस्सा स्थानीयस्तरमै व्यवस्थापन गर्न सकिन्छ, जसले ल्याण्डफिल्ड साइटको आवश्यकता पनि घटाउँछ ।
नागरिक समाज र सञ्चारमाध्यमको सक्रिय भूमिका बिना समाधान सम्भव नहुने देखिएको छ । “मेरो फोहोर, मेरो जिम्मेवारी” भन्ने भावना विकास गर्दै सबै पक्षलाई जवाफदेही बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ । राजनीतिक मतभेदका कारण विकासका काम अवरुद्ध हुँदा यसको असर सम्पूर्ण नगरवासीले भोग्नुपर्ने हुन्छ । त्यसैले फोहोर व्यवस्थापनजस्तो संवेदनशील विषयलाई राजनीतिक स्वार्थभन्दा माथि राखेर सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ ।








