डोल्पा । शे–फोक्सुण्डो गाउँपालिकाले दीर्घकालीन विकाससँग जोडिएका सडक पूर्वाधार र इन्टरनेट सेवाका समस्या समाधानका लागि कर्णाली प्रदेश सरकारसँग पहल तीव्र बनाएको छ । गाउँपालिका अध्यक्ष धावा सम्डुक गुरुङको नेतृत्वमा प्रदेशका मुख्यमन्त्री यामलाल कडेल तथा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेरबहादुर बुढासँग भेट गरी आवश्यक सहयोग र समन्वयको आग्रह गरिएको हो । भेटमा सिङथुप्रा–रिखे–पुग्मो हुँदै दुनै जोड्ने रणनीतिक सडक योजनाका लागि चालु आर्थिक वर्ष २०८२/०८३ मा बजेट सुनिश्चित हुन नसकेको जानकारी गराउँदै आगामी आर्थिक वर्ष २०८३/०८४ मा बहुवर्षीय योजनाका रूपमा स्वीकृत गर्न अनुरोध गरिएको छ ।
उक्त सडक निर्माण भएमा पालिका केन्द्रलाई जिल्ला सदरमुकामसँग सहज रूपमा जोड्ने, पर्यटन प्रवर्द्धन गर्ने तथा स्थानीय नागरिकलाई यातायात पहुँच विस्तार हुने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ । यसअघि पठाइएको पत्रमार्फत पनि सडक सञ्जाल अभावका कारण सेवा प्रवाह, स्वास्थ्य उपचार, विपद् व्यवस्थापन तथा आर्थिक गतिविधिमा असर परेको उल्लेख गर्दै योजनालाई प्राथमिकतामा राख्न माग गरिएको थियो। योजनाको प्रारम्भिक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार भइसकेको छ ।
यसैबीच, गाउँपालिकाका माथिल्ला सात वडामा लामो समयदेखि इन्टरनेट सेवा अवरुद्ध रहेको विषय पनि उठाइएको छ। वर्ल्डलिङ्क कम्युनिकेशन मार्फत सञ्चालित सेवा करिब छ महिनादेखि प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा डिजिटल सेवा, शिक्षा तथा सार्वजनिक सेवा प्रवाहमा समस्या उत्पन्न भएको जनाइएको छ । सेवा प्रदायकसँग पटक–पटक समन्वय गर्दा पनि समस्या समाधान नभएकाले प्रदेश सरकारमार्फत पहल गर्न आग्रह गरिएको हो ।
भेटमा मुख्यमन्त्री कडेलले प्रमुख सचिव मार्फत आवश्यक पत्राचार गरी समस्या समाधानका लागि समन्वय गर्ने निर्देशन दिएको अध्यक्ष गुरुङले जानकारी दिए । गाउँपालिकाले इन्टरनेट सेवा शीघ्र सुचारु हुने र सडक योजना बहुवर्षीय रूपमा स्वीकृत भई कार्यान्वयनमा जाने अपेक्षा व्यक्त गरेको छ । यी दुवै समस्या समाधान भएमा स्थानीय नागरिकको जीवनस्तर सुधार हुने र सेवा प्रवाह प्रभावकारी बन्ने विश्वास गरिएको छ ।







