२०८३ वैशाख १६ , बुधबार

दैलेखमा धार्मिक पर्यटन मेला सुरु



दैलेख ।  ऐतिहासिक तथा धार्मिक महत्व बोकेको दैलेखको पञ्चकोशी क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले नाभिस्थानमा धार्मिक पर्यटन मेला सुरु गरिएको छ । ओझेलमा परेको यस धार्मिक गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित मेला आयोजना गरिएको आयोजकले जनाएको छ । पञ्चकोशी क्षेत्र विकास संस्थाका अनुसार मेलामार्फत यस क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व उजागर गर्ने उद्देश्य राखिएको छ । संस्थाका अध्यक्ष नवीनकुमार योगीले विशेष गरी भारतसहित अन्य मुलुकका हिन्दु धर्मावलम्बीलाई आकर्षित गर्दै पञ्चकोशी क्षेत्रलाई अन्तर्राष्ट्रिय धार्मिक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य रहेको जानकारी दिए ।

मेलाको मुख्य आकर्षणका रूपमा १८ वर्षीया पूज्यमाता कीर्ति किशोरीजीद्वारा दिव्य स्कन्दपुराण वाचन भइरहेको छ । उक्त धार्मिक कार्यक्रममा सहभागी हुन भारत सरकारका पूर्वसचिव तथा भारतीय जनता पार्टीका नेता डा. दिनेश उपाध्यायसहितको टोली दैलेख पुगेको छ ।  मेलामा सहभागी डा. उपाध्यायले पञ्चकोशी क्षेत्रलाई अत्यन्तै पुण्यभूमि भएको उल्लेख गर्दै यसको संरक्षण र विकासमा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने बताएका छन् । यहाँ पाइने पानी, ज्वाला र जडीबुटीजस्ता प्राकृतिक स्रोत अद्वितीय रहेको उल्लेख गर्दै उनले यसको व्यापक प्रचारप्रसार आवश्यक रहेको धारणा व्यक्त गरे ।

मेलामा पूजाआराधना, भजन–कीर्तन, सांस्कृतिक कार्यक्रम तथा स्थानीय उत्पादनको प्रदर्शनीसमेत राखिएको छ । प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिपूर्ण पञ्चकोशी क्षेत्र पर्याप्त प्रचारप्रसारको अभावमा अपेक्षित रूपमा पर्यटक भित्रिन नसकेको स्थानीयवासी बताउँछन् । स्थानीयका अनुसार यस्ता मेलाले क्षेत्रको विकास, व्यापार विस्तार र रोजगारी सिर्जनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ । होटल, यातायात तथा साना उद्यममा संलग्न व्यवसायीहरूले मेलाबाट आर्थिक गतिविधि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०८३ वैशाख १५ गते मंगलबार