२०८३ वैशाख १६ , बुधबार

पत्रकार महासंघद्वारा निःशुल्क आँखा जाँच शिविर



सु्र्खेत ।  नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको ३५औँ स्थापना दिवसका अवसरमा आयोजना गरिएको निःशुल्क आँखा जाँच शिविर  सम्पन्न भएको छ । शाखाको आयोजना तथा प्रदेश अस्पताल सुर्खेतको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त शिविरमा स्थानीय सर्वसाधारण, पत्रकार तथा विभिन्न पेशा–व्यवसायमा आबद्ध व्यक्तिहरूको  सहभागिता रहेको थियो । स्थापना दिवसलाई केवल औपचारिक कार्यक्रममै सीमित नराखी सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आयोजना गरिएको यस शिविरले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ ।

शिविरमा सहभागीहरूले निःशुल्क रूपमा आँखा परीक्षण गराउनुका साथै विशेषज्ञ चिकित्सकबाट आवश्यक स्वास्थ्य परामर्श समेत प्राप्त गरेका थिए । प्रदेश अस्पताल सुर्खेतबाट खटिएको अनुभवी स्वास्थ्यकर्मी तथा प्राविधिक टोलीले आधुनिक उपकरणको प्रयोग गरी सहभागीहरूको दृष्टि परीक्षण गरेको थियो । परीक्षणका क्रममा मोतिबिन्दु, आँखाको संक्रमण, दृष्टि कमजोर हुने लगायतका विभिन्न समस्या पहिचान गरिएको थियो । सामान्य समस्या भएका बिरामीलाई औषधि तथा आवश्यक सल्लाह प्रदान गरिएको थियो भने जटिल समस्या देखिएका केही बिरामीलाई थप उपचारका लागि अस्पतालमा रिफर गरिएको जानकारी आयोजकले दिएको छ ।

शिविरमा ठूलो सङ्ख्यामा सेवाग्राहीको उपस्थिति रहेकोले कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भएको महासंघले जनाएको छ । विशेषगरी ग्रामीण क्षेत्रबाट आएका सर्वसाधारणले सहज रूपमा विशेषज्ञ सेवा प्राप्त गर्न पाएको भन्दै खुसी व्यक्त गरेका थिए । सहभागीहरूले यस्तो प्रकारका कार्यक्रमले आर्थिक रूपमा कमजोर वर्गलाई राहत मिल्नुका साथै समयमै रोग पहिचान गर्न सहयोग पुग्ने बताएका छन् । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका पदाधिकारीहरूले स्थापना दिवसलाई समाज सेवामुखी बनाउने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिएको स्पष्ट पारेका छन् ।

उनीहरूले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य तथा जनचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्  यस प्रकारका निःशुल्क स्वास्थ्य शिविरले समुदायमा स्वास्थ्य प्रति सचेतना अभिवृद्धि गर्नुका साथै समयमै रोग पहिचान र उपचारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख १६ गते बुधबार