जाजरकोट । जिल्लाका सामुदायिक विद्यालयहरूले विद्यार्थी संख्या वृद्धि गर्ने उद्देश्यले घरदैलो भर्ना अभियान सुरु गरेका छन् । नयाँ शैक्षिक सत्र मङ्गलबार देखि सुरु भएसँगै विद्यालयहरूले भर्ना दर बढाउने लक्ष्यसहित अभियान सञ्चालनमा ल्याएका हुन् । भेरी नगरपालिका–१३ कुदुस्थित श्री भगवती माध्यमिक विद्यालयले औपचारिक रूपमा घरदैलो अभियान प्रारम्भ गरेको जनाएको छ । विद्यालयका शिक्षक, कर्मचारी तथा व्यवस्थापन समितिका पदाधिकारीहरू सक्रिय रूपमा घरघरमा पुगेर बालबालिकालाई विद्यालयमा भर्ना गराउने काममा जुटेका छन् ।
विद्यालयकी शिक्षिका ज्योति कार्कीका अनुसार पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको छ । बालबालिका विद्यालय बाहिर नरहून् भन्ने उद्देश्यले अभिभावकसँग प्रत्यक्ष सम्पर्क गरेर भर्ना गराउने प्रयास गरिएको उनले बताए । नजिकै निजी (बोर्डिङ) विद्यालय तथा अन्य प्राथमिक विद्यालयहरू रहेकाले प्रतिस्पर्धा बढ्दा विद्यार्थी संख्या घटेको उनकाे भनाइ छ । अभियानको पहिलो चरणमा एक वडामा मात्रै घरदैलो गरिएको र पहिलो दिनमै करिब सात जना नयाँ विद्यार्थी भर्ना भएको विद्यालयले जनाएको छ। गत वर्ष भर्ना हुन नसकेका बालबालिकालाई प्राथमिकतामा राखेर अभियान सञ्चालन गरिएको हो ।
विद्यालयले आगामी दिनमा अभियानलाई अन्य वडामा पनि विस्तार गर्ने योजना बनाएको छ । साथै अभिभावकलाई विद्यालयमा उपलब्ध शैक्षिक वातावरण, पूर्वाधार तथा गुणस्तरीय शिक्षाबारे जानकारी गराउँदै सामुदायिक विद्यालयप्रति विश्वास बढाउने प्रयास गरिएको छ।गत वर्ष उक्त विद्यालयमा तिन सय १९ जना विद्यार्थी अध्ययनरत रहेका थिए । यस वर्ष भने घरदैलो अभियानका कारण विद्यार्थी संख्या बढ्ने अपेक्षा गरिएको विद्यालय प्रशासनले जनाएको छ ।







