हुम्ला । जिल्लाका दुई वटा माध्यमिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरी सञ्चालनमा ल्याइएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सूचना तथा सञ्चार प्रविधिसँग जोड्दै प्रविधिमैत्री शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले आवश्यक आईसीटी सामग्री सहयोग गरिएको हो । सिमकोट गाउँपालिकाअन्तर्गतका कैलाश माध्यमिक विद्यालय डाँडाफया र मानसरोवर माध्यमिक विद्यालयमा ल्याब स्थापना गरी औपचारिक रूपमा हस्तान्तरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद विकले जानकारी दिए उनका अनुसार दुवै विद्यालयमा गरी ५० थान कम्प्युटर तथा आवश्यक अन्य प्राविधिक सामग्री जडान गरी सञ्चालनमा ल्याइएको छ ।
कैलाश माध्यमिक विद्यालयमा २१ थान कम्प्युटर, इन्टरनेट जडान तथा आवश्यक उपकरणसहित ल्याब सञ्चालनमा ल्याइएको छ भने मानसरोवर माध्यमिक विद्यालयमा २९ थान कम्प्युटर, ब्याकअप प्रणाली तथा अन्य सामग्रीसहित सुविधा सम्पन्न ल्याब स्थापना गरिएको छ । सिमकोट गाउँपालिकाका लेखा अधिकृत विशाल बोहराका अनुसार ल्याब जडान तथा हस्तान्तरण कार्य सफलतापूर्वक सम्पन्न भइसकेको छ । उनले यस्ता प्रविधिमैत्री कार्यक्रमले विद्यालयस्तरमा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान, डिजिटल सीप तथा आधुनिक प्रविधिको प्रयोगमा अभ्यस्त बनाउन यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
उक्त कार्यक्रम कर्मा फाउन्डेसन, एडुटेक नेपाल र वार्म नेस्ट फाउन्डेसनको आर्थिक सहयोगमा सम्पन्न गरिएको हो । ल्याब स्थापनाका लागि आवश्यक फर्निचर तथा भौतिक व्यवस्थापन सिमकोट गाउँपालिकाले उपलब्ध गराएको जनाएको छ । सिमकोट गाउँपालिकाको समन्वयमा सम्पन्न हस्तान्तरण कार्यक्रममा सहयोगी निकायका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले यस्तो पहलले दुर्गम क्षेत्रका विद्यार्थीलाई प्रविधिसँग जोड्दै शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन्







