२०८३ वैशाख १६ , बुधबार

अझै पुगेन बत्ती, अन्धकारमै जीवन बिताउन बाध्य



 जुम्ला ।   तिला गाउँपालिका छ स्थित दुर्गम रिपि गाउँमा विद्युत् पोल गाडिएको झण्डै एक वर्ष बितिसक्दा पनि अझै बत्ती बाल्न नसकिएको छ। पूर्वाधार तयार देखिए पनि विद्युत् सेवा सञ्चालन नहुँदा स्थानीयवासी अन्धकारमै जीवन बिताउन बाध्य भएका छन् । बिजुली अभावका कारण गाउँका बासिन्दा अझै झरो र टुकीको भरमा निर्भर छन् । साँझ परेपछि आवतजावत गर्न कठिन हुने र बालबालिकाको पठनपाठनमा समेत असर परेको स्थानीयहरू बताउँछन् । टुकी र झरोको धुवाँले स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पारिरहेको उनीहरूको गुनासो छ । उज्यालोको अभावले विद्यार्थीलाई राति अध्ययन गर्न समस्या भइरहेको छ भने मोबाइल तथा अन्य विद्युतीय उपकरण चार्ज गर्न टाढा जानुपर्ने बाध्यता छ ।

 

यसले सूचना र सञ्चारको पहुँचमा समेत अवरोध सिर्जना गरेको छ । स्थानीय तह सञ्चालनमा आएको आठ वर्ष बितिसक्दा र गाउँमा पोल गाडिएको एक वर्ष नाघ्दा पनि विद्युत् सेवा नपुग्नुले स्थानीय निराश बनेका छन् । बत्ती अभावकै कारण गाउँमा साना उद्योग, कुटानी–पिसानी मिलजस्ता आर्थिक गतिविधि सञ्चालन हुन सकेका छैनन् । यसले स्थानीयको आयआर्जनमा प्रत्यक्ष असर पारेको स्थानीय गोरबहादुर रावतले बताए उनका अनुसार गाउँमा सडक सुविधा समेत नपुगेकाले जनजीवन थप कष्टकर बनेको छ । गाडिएका अधिकांश पोल जीर्ण बन्दै गएको भए पनि विद्युत् विस्तारको काम अघि नबढेको उनकाे भनाइ छ ।

भौगोलिक रूपमा विकट मानिने रिपि गाउँमा अझै सडक सञ्जाल नपुगेकाले स्थानीयहरू आवतजावतका लागि पैदल यात्रा गर्न बाध्य छन् । दैनिक उपभोग्य सामग्री समेत पिठ्युँमा बोकेर ल्याउनुपर्ने अवस्था रहेको छ । नजिकको सेरीबजार पुगेर सामान खरिद गर्दा समेत अत्यन्त कठिनाइ हुने गरेको स्थानीयहरू बताउँछन् । स्थानीयहरूले आधारभूत आवश्यकताभित्र पर्ने विद्युत् र सडक सेवा शीघ्र विस्तार गर्न सम्बन्धित निकायसँग माग गरेका छन्  ।

प्रकाशित मिति : २०८३ वैशाख १६ गते बुधबार