२०८३ वैशाख १७ , बिहीबार

बढ्दो वन अतिक्रमण, ४२० हेक्टर बढी क्षेत्र प्रभावित



दैलेख ।  वनक्षेत्र अतिक्रमणको समस्या गम्भीर बन्दै गएको छ । धार्मिक, सामाजिक तथा निजी संरचना निर्माणसँगै वन क्षेत्रमा दबाब बढ्दै गएको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लाभर हालसम्म करिब ४२०.२९ हेक्टर वनक्षेत्र अतिक्रमणमा परेको छ । यसमध्ये ८१ हेक्टर नयाँ अतिक्रमण हो भने ३ तिन सय ३८.८९ हेक्टर क्षेत्र पहिले नै अतिक्रमित भइसकेको थियो । अतिक्रमण सबैभन्दा बढी चामुण्डा बिन्द्रासैनी नगरपालिका र ठाँटीकाँध गाउँपालिकामा देखिएको छ, जहाँ २४०.१० हेक्टर वनक्षेत्र प्रभावित भएको छ ।

यस्तै नारायण नगरपालिका र भगवतीमाई गाउँपालिकामा १३.८९ हेक्टर, डुङ्गेश्वर र गुराँस गाउँपालिकामा १८.९२ हेक्टर, दुल्लु नगरपालिका र भैरवी गाउँपालिकामा ५९.५४ हेक्टर तथा महाबु गाउँपालिकामा ६२.१२ हेक्टर वनक्षेत्र अतिक्रमणमा परेको तथ्याङ्क सार्वजनिक गरिएको छ । वन क्षेत्र मासिँदै बसोबास, खेतीपाती र अन्य प्रयोगमा ल्याइनु मुख्य समस्या बनेको छ ।

अतिक्रमण नियन्त्रणका लागि डिभिजन वन कार्यालयले पहल सुरु गरेको छ । कार्यालय प्रमुख अमरप्रसाद साहका अनुसार अतिक्रमित क्षेत्र खाली गराउन सातदिने सूचना जारी गरी सम्बन्धित व्यक्तिलाई स्वेच्छिक रूपमा हट्न आग्रह गरिएको छ । यसका साथै नारायण, आठबिस र दुल्लु नगरपालिकालगायत स्थानीय तहसँग समन्वय र सहकार्यका लागि पहल भइरहेको छ । वन संरक्षणका लागि स्थानीय तह र समुदायको सक्रिय भूमिका अपरिहार्य रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख १७ गते बिहीबार